images
images

बागमती प्रदेशमा एमाले अधिवेशन : दोलखा र सिन्धुलीमा निर्वाचन, दुई जिल्लामा स्थगित

काठमाडौं । नेकपा एमाले वागमती प्रदेशका १० वटा जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । वागमती प्रदेशका १३ जिल्ला मध्ये १० वटा जिल्लामा नयाँ नेतृत्व चयन भएको हो ।

९ जिल्लामा सर्वसम्मत नेतृत्व

एमालेले ९ जिल्लामा सर्वसम्मत र एउटा जिल्लामा निर्वाचनको प्रक्रियावाट अध्यक्ष चयन गरेको छ । दुई जिल्लाको नयाँ नेतृत्व चयन प्रक्रिया स्थगित भएको छ भने एक जिल्लाको मतगणना जारी रहेको छ । एमालेले काठमाण्डौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर र रामेछापमा सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको छ । जस अनुसार काठमाण्डौंको अध्यक्षमा दिपक निरौला, ललितपुरमा पुरुषोतम आचार्य, भक्तपुरमा बचन देउजा, काभ्रेपलान्चोकमा अशोक व्यान्जु, रसुवामा कर्णेल लामा, नुवाकोटमा बद्री मैनाली, धादिङमा भूमि त्रिपाठी, मकवानपुरमा एकलाल श्रेष्ठ र रामेछापमा आनन्द श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।

रामेछापको आयो मत परिणाम

सर्वसम्मत अध्यक्ष चयन गरिएका ९ जिल्ला मध्ये काभ्रेपलान्चोक र रामेछाप वाहेक ७ जिल्लामा अन्य पदाधिकारी र सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन् । काभ्रेपलान्चोकमा उप–सचिव पदमा रिता ढकाल सर्वसम्मत भएपनि बाँकी पदमा निर्वाचन भएको छ । रामेछापमा अध्यक्ष वाहेक सवै पदाधिकारी र केही सदस्यहरुमा निर्वाचन भएको थियो । एमाले रामेछापको उपाध्यक्षमा इन्द्रवहादुर तामाङ, सचिवमा पुरुषोतम कडरिया र उप–सचिवमा प्रकाशकुमार कार्की र होटराज ढकाल निर्वाचित भएका छन् । रामेछापको मत परिणाम आज मात्रै सार्वजनिक भएको हो । सिन्धुलीमा भने निर्वाचनवाट कुमारवहादुर कार्की एमालेको जिल्ला अध्यक्ष चयन भएका छन् ।

दोलखामा मतगणना जारी

दोलखामा अध्यक्ष सहित सवै पदाधिकारी र अधिकाँश सदस्य पदमा निर्वाचन भएको छ । एमाले दोलखामा अहिले मतगणना कार्य भईरहेको छ । सिन्धुपाल्चोक र चितवनमा भने नेतृत्व चयनमा विवाद भएपछि अधिवेशन स्थगित भएको छ । सिन्धुपाल्चोकमा अध्यक्ष पदमा बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ, कमल नेपाल र केदार क्षेत्री गरी चार जना दावेदार छन् । अन्य पदमा पनि धेरै आकांक्षि भएपछि सहमति जुट्न नसकी आगामी माघ ३ गतेसम्मकालागि नेतृत्व चयन प्रक्रिया स्थगित भएको छ । चितवनमा पनि नेतृत्व चयनमा सहमति हुन सकेको छैन ।