images
images

बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने

  • २६ पुष २०७९, मंगलवार १७:२४

हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।

प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकग्राम जम्मरकट्टेलको अध्यक्षतामा आज बसेको पहिलो मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । त्यसको अध्ययनका लागि मुख्य सचिव न्योपानेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदललाई बागमती प्रदेशमा उपयुक्त मन्त्रालयको संख्या सिफारिस गर्न १५ दिनको समय दिइएकोे छ । पाँच सदस्यीय कार्यदलमा आर्थिक मामिला तथा योजना सचिव, आन्तरिक मामिला तथा कानुन सचिव, मुख्यमन्त्री कार्यालयका कानुन सचिव र मुख्यमन्त्री कार्यालयका प्रशासन महाशाखा सचिव रहेका छन् । बागमती प्रदेशको पछिल्लो मन्त्रिपरिषदमा १४ वटा मन्त्रालय थिए ।

चार राज्यमन्त्री सहित १८ जना मन्त्री भएपछि झ्याल–झ्यालमा मन्त्रालयको बोर्ड टाँगिएको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको छ । मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै जम्मरकट्टेलले बागमतीमा बढीमा ११ वटा मन्त्रालय हुने बताउनुभएको थियो । यस्तै बागमती प्रदेशको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियालाई जिम्मेवारी दिइएको छ । बैठकले प्रादेशिक संरचना निर्माणका लागि संघीय सरकार समक्ष पठाइएको जग्गा प्राप्ति सम्बन्धी सिफारिसको फलोअप गर्ने निर्णय गरेको छ । सो विषयमा थप पहल गर्न प्रदेशका मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।