काठमाडौं । बलात्कारको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय र पिडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ । यसअघि गत पुस १३ गते न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । जसअनुसार पेसी तोकिएअनुसार ८ वर्ष कैद सजायको फैसला भएको हो ।
यसैबीच लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका हुन् । क्रिकेटर लामिछानेले बलात्कारको मुद्दाबाट सफाइ नपाएसम्म खेल जीवनबाट आफूलाई अलग राख्ने भएका छन् । अधिवक्ता घिमिरेले आफूहरूले सन्दीपलाई मुद्दामा सफाइ नपाउँदासम्म खेल जीवनबाट अलग बस्न सुझाव दिएको बताउनुभयो ।










