images
images

पत्रकार गोलेलाई ‘उत्कृष्ट सञ्चारकर्मी’ को सम्मान, नमूना सहकारी र अभियान्ता पुरस्कृत

दोलखा । हाम्रो अपडेट अनलाइनका सम्पादक तथा जिरी एफएमका स्टेशन मेनेजर सिर्जना गोले ‘उत्कृष्ट सञ्चारकर्मी’ वाट पुरस्कृत भएकी छिन् ।

पत्रकारिताका माध्यमवाट सहकारी क्षेत्रमा योगदान पुर्याए वापत पत्रकार गोलेलाई दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघले २६ औं साधारण सभामा आज नगद र सम्मान पत्रसहित पुरस्कृत गरेको हो । दोलखा जिल्ला वचत संघले हरेक वर्ष सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने एक जना पत्रकारलाई यो पुरस्कार दिँदै आएको छ । उत्कृष्ट सञ्चारकर्मीवाट पुरस्कृत पत्रकार गोले नेपाल पत्रकार महासंघ दोलखा शाखाको कोषाध्यक्ष पनि हुन् ।

साधारण सभामा सहकारी क्षेत्रका अभियान्ता तथा बिभिन्न सहकारी संस्थाहरुलाई पनि सम्मान र पुरस्कार प्रदान गरिएको छ । सभामा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका पूर्व कोषाध्यक्ष पुस्करकुमार दहाललाई उत्कृष्ट सहकारी अभियान्ता ् हाम्रो अर्थभूमी वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मन कुमार श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापककोरुपमा सम्मान गरिएको छ । यसैगरी दोलखा जिल्ला वचत संघका पूर्व संचालक देवी प्रसाद शर्मा पनि कार्यक्रममा सम्मानित भएका छन् ।

यो वर्ष तामाकोशी गाउँपालिका–५ शहरेमा रहेको हाम्रो तामाकोशी साकोस जिल्लाकै उत्कृष्ट सहकारी भएको छ । दोलखा जिल्ला वचत संघमा आवद्ध रहेका जिल्लाका १५९ वटा संस्थाहरु मध्ये तामाकोशी साकोस उत्कृष्ट भएको हो । यस्तै, चरिकोटस्थित मिलिजुली कालिञ्चोक साकोस उत्कृष्ट लगानी गर्ने संस्था, तामाकोशी गाउँपालिका–३ को जनश्रमिक साकोस उत्कृष्ट कारोवार गर्ने संस्था र भीमेश्वर नगरपालिका–६ को परोपकार महिला साकोस उत्कृष्ट सेवा उपयोग गर्ने संस्थाकोरुपमा पुरस्कृत भएको छ ।

पुरस्कृत तथा सम्मानित व्यक्ति तथा संस्थाहरुलाई बागमती प्रदेशसभाका सांसद भरतवहादुर केसी, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्का र दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष भूमिराज खड्काले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।