
काठमाडौँ । नेपाली कांग्रेसले विभिन्न ३७ वटा विभागको सचिव तोकेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीले गठन गरेका ५६ विभागमध्य ३७ विभागको सचिव मनोनित गर्नुभएको हो । जसअनुसार आदिवासी जनजाती विभागको सचिवमा दोलखाका पासाङ शेर्पालाई जिम्मेवारी दिईएको छ । कांग्रेसले निर्माण व्यवसाय समन्वय विभागको सचिवमा रामेछापका एडी लामा र अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवम् उत्प्रेरणा विभागको सचिवमा भोजराज श्रेष्ठलाई तोकेको छ ।
यसैगरी, प्रदेश समन्वय विभागको सचिवमा डा. रघु काफ्लेले जिम्मेवारी पाएका छन् भने महिला विभागमा कविता ईटनी, सूचना, सञ्चार तथा प्रचार विभागमा गोपाल झा र वातावरण तथा जलवायु परिवर्तन विभागको सचिवमा समीक्षा चौधरीलाई जिम्मेवारी दिईएको छ । कांग्रेस सभापति देउवाले सहकारी विभागमा चन्द्रूप्रसाद ढकाल र पेशागत तथा बुद्धिजिवी विभागमा शिवमाया तुम्वाहाम्फेलाई मनोनित गर्नुभएको छ ।
कांग्रेसले ५६ विभागको प्रमुख तोकेपछि पुर्णता भने पाउन सकेको छैन । विधान अनुसार प्रमुख सहित बढीमा ५१ सदस्य रहने व्यवस्था भएपनि पार्टीले हालका लागि एउटा विभागमा बढीमा १० सदस्य बनाउने गरी निर्देशन दिएको छ ।