
दोलखा । दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडले गत आर्थिक वर्षको १३ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ ।
बचत संघले गत आर्थिक वर्षको कारोवारवाट भएको मुनाफावाट १३ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको हो । बचत संघको वार्षिक साधारण सभालाई सम्वोधन गर्दै अध्यक्ष भूमिराज खड्काले गत वर्ष संघले ६० लाख ७२ हजार ८१६ रुपैयाँ नाफा कमाएको र कोष बाँडफाँडवाट आएको शेयर लाभांशवाट शेयर पूँजिमा १३ प्रतिशतका दरले शेयर लाभाशं बितरण गर्ने जानकारी दिनुभयो ।
संघले अघिल्लो आर्थिक वर्ष ५२ लाख ७७ हजार ९४७ रुपैयाँ मुनाफा गरेकोमा गत आर्थिक वर्ष ७ लाख ९४ हजार ८६९ रुपैयाँ बढी मुनाफा गरेको हो । संघका बरिष्ठ उपाध्यक्ष जगतप्रसाद सुवेदीले आर्थिक कारोवारमा बृद्धि भएसँगै आम्दानी बृद्धि भई मुनाफा समेत बढेको जानकारी दिनुभयो ।
कोषाध्यक्ष परशुराम कार्कीका अनुसार दोलखा जिल्ला वचत संघको गत असार मसान्तसम्म शेयर पूँजि १ करोड ३७ लाख ५३ हजार ५ सय रुपैयाँ पुगेको छ भने ऐच्छिक निक्षेप २१ करोड १२ लाख ४७ हजार ९ सय २२ र नियमित निक्षेप २ करोड ११ लाख ७३ हजार ७४८ रुपैयाँ रहेको छ । सो अवधिको वित्तिय लगानी २७ करोड ८१ लाख ५४ हजार ८२६ रुपैयाँ छ ।
दोलखा बचत संघका महासचिव तेन्जिङ शेर्पाका अनुसार संघमा जिल्लाभरका १५९ वटा वचत तथा ऋण कारोवार गर्ने संस्थाहरु सदस्य रहेका छन् । उहाँका अनुसार गत असार मसान्तसम्म संघको कूल सम्पति ४० करोड ८१ लाख २९ हजार ८२३ रहेकोमा चालु वर्ष ४ करोड ६८ लाख ७० हजार १७६ रुपैयाँ बृद्धि गरी ४५ करोड ५० लाख पुर्याउने लक्ष्य राखिएको छ ।
संघको २६ औं वार्षिक साधारण सभा तथा २९ औं स्थापना दिवसको बागमती प्रदेशसभाका सांसद भरतवहादुर केसीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन मन्तव्य व्यक्त गर्दै सांसद केसीले सहकारी क्षेत्रमा अहिले देखिएको बिकृति अन्त्य गर्दै आर्थिक पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो ।
साधारण सभालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद फुयाँल, दोलखा जिल्ला बहुउद्धेश्यीय सहकारी संघका अध्यक्ष श्यामकाजी कटुवाल, सहकारी अभियान्ताहरु भिमप्रसाद दहाल र रामदास श्रेष्ठ, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, भीमेश्वर नगरपालिका सहकारी सञ्जालका सचिव भोला खतिवडा लगायतले सहकारी क्षेत्रको बिद्यमान अवस्था र अवको भूमिकाका बिषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
