images
images

बागमती प्रदेशका २६ अस्पतालका अध्यक्ष हटाउने मन्त्रिस्तरीय निर्णय

  • २७ माघ २०७८, बिहीबार १६:४२

हेटौंडा । बागमती प्रदेश सरकारले २६ वटा अस्पतालका अध्यक्षहरुलाई हटाउने भएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयको माघ १८ गते बसेको बैठकले प्रदेश सरकार अन्तर्गतको २६ वटै अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु हटाउने निर्णय गरेको हो । बागमती प्रदेश अन्तर्गत १३ वटा अस्पताल र १३ वटा आयुर्वेद अस्पताल गरी २६ वटा स्वास्थ्य संस्था रहेका छन् । ती सवै अस्पतालको व्यवस्थापन समितिका अध्यक्षलाई हटाउने मन्त्रिस्तरीय निर्णय भएको प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी असिम घिसिङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई हटाउने विषयमा हिजो प्रदेश अन्र्तगतका सबै अस्पताललाई पत्राचार समेत गरिएको छ ।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रदेश अन्तर्गतका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाउने तयारी स्वरुप सबै अध्यक्षहरुलाई स्पष्टिकरण सोधेको छ । प्रदेश सरकार अन्र्तगतका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्तिहरुलाई खारेज गर्ने वर्तमान सरकारको तयारी रहेको छ । सोही अनुसार यसअघि एमाले नेतृत्वको सरकारले नियुक्त गरेका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरुलाई हटाउन स्पष्टिकरण सोधिएको हो ।