images
images

बागमती प्रदेशमा फागुन १ गते ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा

  • २७ माघ २०७९, शुक्रबार ०९:२६

बागमती प्रदेश सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।

बागमती प्रदेशले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने जनाएको छ । यस्तै, कर्णाली प्रदेश सरकारले पनि प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गर्दै बिदाको घोषणा गरेको छ ।

२०५२ साल फागुन १ गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै सिन्धुली, रोल्पा र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो । २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ ।