
दोलखा । नेकपा एमाले दोलखाको हालै सम्पन्न १० औं जिल्ला अधिवेशनवाट जिल्ला कमिटी सदस्यमा अधिकाँश युवाहरु निर्वाचित भएका छन् ।
निर्वाचन मार्फत चयन भएको जिल्ला कमिटीमा अधिकाँश नयाँ अनुहार आएका हुन् । विधार्थी, युवा र महिला संगठनको जिल्ला नेतृत्व लिएका युवाहरु पार्टीको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका हुन् । एमाले दोलखाको अध्यक्ष, उपाध्यक्ष र महिला उपसचिवमा पुरानै अनुहार दोहोरिदा जिल्ला कमिटी सदस्यमा युवाहरुको बाहुल्यता देखिएको छ । जिल्ला कमिटीमा युवाहरुको बाहुल्यता रहँदा दोलखा एमालेमा लामो समयदेखि राजनीति गरेका पुराना नेताहरु भने बाहिरिनु परेको छ ।
एमाले दोलखाको नयाँ नेतृत्वकालागि प्यानल बनाएर निर्वाचनमा जाँदा अधिकाँश युवाले अवसर पाएका हुन् । उपसचिवमा निर्वाचित हरि ओली विधार्थी राजनीतिवाट उदाएका युवा नेता हुन् । भुगोल र खुल्लावाट जिल्ला कमिटीमा निर्वाचित हुने अधिकाँश युवा छन् । खुल्ला सदस्यतर्फ निर्वाचित अभिषेक सुवेदी, कुमार खड्का, बासु श्रेष्ठ, नविनकुमार लामा, नेत्र मोक्तान, रमेश श्रेष्ठ, रिनन पोखरेल, लोकवहादुर नेपाली, शक्ति पाठक र स्यामसुन्दर शिवाकोटी मध्ये खड्का, लामा र नेपाली वाहेक सवै युवा अनुहार हुन् ।
एमाले पोलिट्व्युरो सदस्य आनन्दप्रसाद पोखरेलका छोरा रिनन पोखरेल पनि जिल्ला कमिटीमा निर्वाचित भएका छन् । पछिल्लो समय राजनीतिमा सक्रिय देखिएका रिननको जिल्ला कमिटी प्रवेशलाई महत्वका साथ हेरिएको छ । नेता पोखरेलको समर्थन रहेका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव सहितको टिम पराजित हुँदा उनका छोरा रिनन २५६ मत ल्याएर जिल्ला सदस्य चयन भएका हुन् ।
दोलखा एमालेमा युवा कोटा तोकेर ४० वर्षभन्दा कम उमेरका ९ जना जिल्ला कमिटी सदस्य चयन गरिएको छ । एमालेका तत्कालिन पोलिट्व्युरो सदस्य स्वर्गीय पशुपति चौंलागाईका भतिज (भाइका छोरा) प्रशान्त चौंलागाई पनि युवा कोटावाट जिल्ला कमिटीमा निर्वाचित भएका छन् । स्थानीय तहका ९ वटा भुगोलवाट निर्वाचित हुने जिल्ला कमिटी सदस्यहरुमा पनि अधिकाँश युवा अनुहार छन् । महिला, दलित र जनजाती क्लस्टरवाट पनि धेरै युवाहरु जिल्ला कमिटीमा चयन भएका छन् ।