दोलखा । दोलखा जिल्लामा १ सय १७ जना लेखापढी व्यवसायी थपिएका छन् ।
लेखापढी व्यवसायीका लागि १ सय ९७ जनाले परिक्षा दिएकोमा १ सय १७ जना उतीर्ण भएका हुन् । दोलखा जिल्ला अदालतले आज सूचना जारी गरी थपिएका लेखापढी व्यवसायीको नाम सार्वजनिक गरेको छ । १ सय ९७ जना आवेदक मध्ये लिखित परिक्षामा १ सय २९ जना उतीर्ण भएका थिए । ती मध्ये १ सय १७ जना मौखिक परिक्षामा पनि उर्तिण भएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार अन्जन भट्टराईले जानकारी दिनुभयो ।
कानुन व्यवसायी परिषद ऐन २०५० को दफा २८ तथा लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ बमोजिम अडड अदालतमा लेखापढीको प्रमाणपत्र दिने प्रयोजनको लागि पुुस २४ गते लिखित परिक्षा लिइएको थियो भने आज अन्र्तवार्ता भएको थियो । छनोट भएका लेखापढी व्यवसायी मध्ये २६ जना महिला र ९१ जना पुरुष रहेका छन् । भीमेश्वर नगरपालिकाका सबैभन्दा धेरै ४० जना उतीर्ण भएका छन् ।
नेपाली लेखापढ गर्न जान्ने, १६ वर्ष उमेर पुगेको नेपाली नागरिकले अड्डा अदालतमा लेखापढी गर्ने प्रमाणपत्र लिन चाहेमा एक सय रुपैयाँ दस्तुर सहित अनुसूची १ को ढाँचामा जिल्ला अदालतमा निवेदन गर्नुपर्ने व्यवस्था छ । लेखापढी व्यवसायीले राजीनामा, बकसपत्र लगायतका मालपोत कार्यालयमा पारित हुने लिखत, अदालतमा तारेख थाप्ने, साक्षी हाजिर गराउने, सकारनामा गर्ने जस्ता सामान्य प्रकृतिका लिखत लगायतका कागजातको मस्यौदा गर्न पाउने छन् ।










