images
images

दोलखा प्रहरीसँग चोरीका ४३ वटा मोटरसाइकल, १५ दिनभित्र धनीको पहिचान नभए हुनेछ लिलाम

जिरी(दोलखा) । विभिन्न समयमा चोरी भएका मोटरसाइकल (बाइक) लाई बरामद गरेको दोलखा प्रहरीले सम्बन्धीत धनीलाई लिन आउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले हिजो सुचना जारी गरी विभिन्न समयमा बरामद तथा नियन्त्रणमा लिइएको ४३ वटा मोटरसाइकल रहेको भन्दै पुष्टि हुने कागजात सहित सम्बन्धीत व्यक्तिलाई लिन आउन भनेको हो । जिल्लाका विभिन्न स्थानमा बेबारिसे अवस्थामा फेला परेको तथा कुनै पनि व्यक्तिको स्वामित्व नखुलेकोे ४३ वटा मोटरसाइकल रहेका छन् । जुन दोलखा प्रहरीले १५ दिने सुचना नै जारी गरी सम्बन्धीत मोटरसाइकल धनीलाई बुझाउन लागेको हो । जसमा सबैभन्दा बढी पल्सर बजाज मात्रै २७ वट रहेका छन् भने अपाची, यमाहा, स्कुटर लगायत अन्य नम्बर नखुलेको मोटरसाइकलहरु पनि रहेका छन् ।

कुनै पनि व्यक्तिको स्वामित्व नखुलेको, चालु तथा बन्द अवस्थामा जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुमा रहेका मोटरसाइकलहरु १५ दिनभित्र कागजात सहित दावी गर्न नआए लिलाम मार्फत विक्री हुने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्काले जानकारी दिनुभयो । सो अवधिमा दावी भएर सक्कल कागजात सहित आउने मानिसहरुले आफ्नो मोटरसाईकल पहिचान गरी लैजान सक्नेछन् ।

तर, तोकिएको समयभित्र कुनै पनि दावी तथा कार्यालयमा सम्पर्क नभएमा लिलाम प्रकृया मार्फत मोटरसाईकल विक्री हुने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सो मोटरसाइकलहरु सरकारी सम्पति जिन्सी मालसामान लिलाम विक्री व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ परिच्छेद ३ अनुसार को नियम २० मा व्यवस्था भए अनुसार लिलाम प्रकृया अघि बढ्ने बताइएको छ । विगतदेखि जिल्ला प्रहरी कार्यालय परिसरमा धेरै मोटरसाइकलहरु थन्किएको देख्न सकिन्छ ।