images
images

राष्ट्रिय परिचयपत्र लिनै मुश्किल, दोलखा प्रशासन परिसरमा मध्यरातदेखि सेवाग्राहीको लाईन

  • २६ फाल्गुन २०७८, बिहीबार १४:१७

दोलखा । दोलखामा राष्ट्रिय परिचयपत्र बनाउनका लागि सर्वसाधारणले निकै सास्ती खेप्नु परेको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखामा उचित व्यवस्थापन नहुँदा राष्ट्रिय परिचयपत्र बनाउन सर्वसाधारणलाई निकै समस्या भएको हो । राष्ट्रिय परिचयपत्र बनाउन ठूलो भिड भएपनि प्रशासनले दैनिक रुपमा ४० जनालाई मात्रै टोकन वितरण गरेर परिचयपत्र दिँदा सर्वसाधारणलाई रातभर लाईन बस्नुपर्ने बाध्यता छ । तोकिएको कोटामा निर्धारित टोकन पाउनका लागि सेवाग्राही मध्यरात देखि लाईन बस्न थालेका हुन् । स्थानीय प्रशासनको परिसरमा ३/४ दिनदेखि प्रतिक्षा गरिरहेका सेवाग्राहीले आफुहरुले राष्ट्रिय परिचयपत्र बनाउन धेरै समस्या खेप्नु परेको गुनासो गरेका छन् ।

जिल्लाको जिरी नगरपालिका वडा नम्बर ५ घर भई काठमाडौं बस्दै आएका सुनिलकुमार खड्काले राष्ट्रिय परिचयपत्र बनाउन आएको ४ दिन पछि बल्ल परिचयपत्र पाएको गुनासो गर्नुभयो । छोरीको राष्ट्रिय परिचयपत्र बनाउन आएका खड्काले पटक–पटक लाईन बस्दा पनि ४० जनाको कोटाभित्र टोकन पाउन नसकेपछि चार दिन चरिकोट मै बिताएका हुन् । वैतेश्वर गाउँपालिका वडा नम्बर ३ का सुजन बस्नेतले पनि यस्तै समस्या भोग्नु परेको छ । पासपोट बनाउनका लागि राष्ट्रिय परिचयपत्र लिन आएका बस्नेतले ४ दिनसम्म पनि परिचयपत्र नपाएर भौतारिनु परेको छ । घर टाढा भएकोले होटलमा बस्नुपर्दा खर्च धेरै हुनुका साथै आफुले निकै सास्ति व्यहोर्नु परेको उहाँले बताउनुभयो । भौगोलिक हिसावले टाढाको दुरीमा रहेका मात्र नभई सदरमुकाम चरिकोटकै बासिन्दाले समेत राष्ट्रिय परिचयपत्र पाउन सकेका छैनन् । भीमेश्वर नगरपालिका वडा नम्बर ६ चरिकोटकी रश्मिला लामाले पनि राष्ट्रिय परिचयपत्र पाउन दुई दिन कुर्नुप¥योे । रातिनै आएर नाम लेख्नुपर्ने र लामो लाइन बस्नुपर्ने भएकाले टाढा घर भएकाहरुलाई निकै कठिन र झन्झटीलो भएको भन्दै दुखेसो पोख्नुभयो ।

राष्ट्रिय परिचयपत्र बनाउन ठूलो भिड भएपनि प्रशासनले दैनिक रुपमा ४० जनालाई मात्रै टोकन वितरण गरेर परिचयपत्र दिँदा सर्वसाधारणलाई रातभर लाईन बस्नुपर्ने बाध्यता छ । तोकिएको कोटामा निर्धारित टोकन पाउनका लागि सेवाग्राही मध्यरात देखि लाईन बस्न थालेका हुन् । राष्ट्रिय परिचयपत्र वितरणको भद्रगोल अवस्थाले शुसासनको खिल्लि उडाएको छ । स्थानीय प्रशासनले भने दैनिक राष्ट्रिय परिचयपत्र बनाउनलाई क्षमताले धान्न नसकेको र अर्को स्टेशन नहुँदा आफुहरुले सहजै वितरण गर्न नसकेको बताएको छ । 

यी त प्रतिनिधमुलक पात्र मात्रै हुन् । दोलखामा राष्ट्रिय परिचयपत्र बनाउने क्रममा सास्ति व्यहोर्नेको सँख्यादिन प्रतिदिन बढ्दो छ । मध्यरातदेखि परिचयपत्रका लागि लाईनमा बस्नु पर्ने, ३/४ दिनकुर्दा पनि काम नभएर खालि हात घर फर्किनु पर्ने बाध्यता भएपनि यसको सहज वितरणका लागि सम्वन्धित निकायको ध्यान जान सकेको छैन । राष्ट्रिय परिचयपत्र वितरणको भद्रगोल अवस्थाले शुसासनको खिल्लि उडाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत औलख बहादुर आलेले दैनिक राष्ट्रिय परिचयपत्र वितरणको क्षमता ३५ देखि ४० भएको र कहिले काँही प्राविधिक पक्ष नमिल्दा सेवाग्राहीलाई समस्या उत्पन्न भएको बताउनुभयो । दैनिक राष्ट्रिय परिचयपत्र बनाउनलाई क्षमताले धान्न नसकेको र अर्काे स्टेशन नहुँदा आफुहरुले सहजै वितरण गर्न नसकेको उहाँको भनाई छ ।

प्रशासकीय अधिकृत आलेले राष्ट्रिय परिचयपत्र विभागले राखेको दरबन्दी अनुसार एउटा स्टेशनमा एउटा कम्प्युटर अपरेटर र सहायक कर्मचारी राखेर काम भइरहेको र प्रशासनले दरबन्दी थप गर्न नमिल्ने भएकाले समस्या भएको बताउनुभयो । राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन अर्काे स्टेशन थप गर्नका लागि आफुहरुले गृहमन्त्रालयमा पत्राचार गरेर ताकेता गरिरहेको उहाँको भनाई छ । राष्ट्रिय परिचयपत्र विभागले थप जनशक्ति पठाएर दुई वटा स्टेशन राखेमा दैनिक ९० जनालाई वितरण गर्नुका साथै प्रत्येक पालिका बाटै वितरण सुरु गरेमा मात्रै सजिलो हुने भन्दै प्रशासकीय अधिकृत आलेले यसको विकल्पमा हालका लागि अन्य केही उपाय नभएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय दोलखाबाट हाल दैनिक ४० जनालाई परिचयपत्र वितरण भइरहेको छ । एउटा परिचयपत्र बनाउनका लागि आधा घण्टा लाग्ने गरेको छ भने अनलाइनबाट फाराम भरेकाहरुको हकमा १५ मिनेटमा समय लाग्ने गरेको छ । जिल्लामा २०७७ साल असार १७ गतेबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु भएको थियो । बैदेशिक रोजगारीमा जानका लागि पासपोर्ट बनाउनेहरुले अनिवार्य राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने व्यवस्था लागु भएसँगै प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन दैनिक १ सय जना भन्दा बढी सेवाग्राही आउने गरेका छन् ।