images
images

गोकुलगंगाको ८९ वटा योजनाको भुक्तानी, जेठ सम्म सबै योजना सक्ने लक्ष्य

  • २६ फाल्गुन २०७९, शुक्रबार १६:०१

जिरी (दोलखा) । रामेछापको गोकुलगंगा गाउँपालिकामा चालु आर्थिक वर्ष सञ्चालन भएका विकास निर्माणका योजनामध्य ८९ वटा योजनाको भुक्तानी भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाभित्रका ६ वटै वडामा सञ्चालन भएका ३०५ योजनामध्य हालसम्म ८९ वटा योजनाको भुक्तानी भएको हो । जसअनुसार वडा नम्बर १ मा ५४ वटा योजना छनौट भएकोमा ३७ वटा योजनाको काम सकेर भुक्तानी भएको पालिकाले जनाएको छ । यसैगरी वडा नम्बर २ मा ३७ वटा योजना सञ्चालन भएकोमा १९ वटा, वडा ३ मा ५३ वटा योजनामा १२, वडा नम्बर ४ मा ५० वटा योजनामा ८ वटा र वडा नम्बर ६ मा ३४ योजनामा ७ योजनाको निर्माण सम्पन्न भएर भुक्तानी दिएको योजना शाखा अधिकृत भुम बहादुर बुढाले जानकारी दिनुभयो । वडा नम्बर ५ मा भने कुनै पनि योजनाको भुक्तानी भएको छैन ।

वडा नम्बर १ मा सबै योजना सम्झौता भई धमाधम काम भइरहेको छ । अब ५४ वटा योजनाको सम्झोता हुन बाँकी रहेको छ । वडा नम्बर २ मा ७ वटा, वडा नम्बर ३ मा ४ वटा, वडा नम्बर ४ मा ९ वटा, वडा नम्बर ५ मा १४ वटा र वडा नम्बर ६ मा १२ वटा गरी ४६ वटा योजनाको सम्झौता हुन बाँकी रहेको हो ।

८९ वटा योजनाको भुक्तानी भएपनि समग्रमा हेर्दा हालसम्म ५० प्रतिशत योजनाको काम सम्पन्न भएको देखिन्छ । पालिका अध्यक्ष काजी खड्का (दिनेश) का अनुसार यो वर्ष पालिकामा सम्झौता भई सञ्चालन भएका योजनामध्ये ५० प्रतिशत भन्दा बढी योजनाको काम सम्पन्न भइसकेको छ ।

प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले पनि आगामी जेठ मसान्तसम्म सबै योजनाको निर्माण सम्पन्न गर्नेगरी काम अघि बढिरहेको जानकारी दिनुभयो ।