भक्तपुर । मध्यपूर्वका देशमा जारी तनावको कारण हवाई उडान रोकिएपछि नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको छ ।
अमेरिका–इजरायल गठबन्धन र इरानबीचको युद्दका कारण मध्यपूर्वका देशहरुमाथि हमला भइरहेका बेला ती देशका आकाशहरु बन्द भएका छन् । जसका कारण नेपालबाट विभिन्न देशमा जाने र ती देशबाट नेपाल आएकाहरुको ट्रान्जिट सहित नेपाली कामदारको मुख्य गन्तव्य मुलुकका एयरलाइन्सहरुका उडान बन्द छन् ।
मध्यपुर्वका विभिन्न देशमा जान टिकट काटिसकेका यात्रीहरु उडानको जानकारी लिन र उडानको समय सकिएकाहरु आफ्नो टिकटको पैसा फिर्ता लिने उपायबारे सोधपुछ गर्न दिनहुँ काठमाडौंस्थित ती एयरलायन्सका सम्पर्क कार्यालयमा लाइन बसिरहेका छन् ।
अहिले यात्रुहरुको दिनहुँ भीड देखिएपछि कतार एयरलाइन्सले सूचना नै टाँसेको छ । अमेरिका–इजराइल र इरानबीचको युद्ध तत्काल रोकिने सम्भावना कम देखिएपछि नेपालका एयरलाइसहरुमा सोधखोज गर्ने यात्रुहरुको भीड देखिन थालेको हो । उनीहरु अब कहिले मध्यपूर्वका देशमा जान सक्छन् भन्ने अन्योल देखिएको छ ।










