
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका एक पुरुष २५ वर्ष पुरानो मानव बेचविखनको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।
तेमाल गाउँपालिका ३ सरमथलीका ५९ वर्षिय प्रेम लामा भनिने ओमबहादुर तमाङलाई प्रहरीले २५ वर्ष पुरानो मानव बेचविखनको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । उनले आफ्नै गाउँकी एक युवतीलाई २०५४ साल भदौमा पैसा कमाउने काममा लगाइदिन्छु भन्दै भारतको दिल्लीस्थित वेश्यालयमा बिक्रि गरेका थिए । तमाङले ति युवतीलाई फकाएर गाउँबाट काठमाडौं हुँदै झुक्याएर दिल्लिस्थित ३ नम्बर कोठीमा लगेर ३५ हजार भारुमा बेचेका थिए । चार वर्षसम्म वेश्यालमा नरकिय जीवन बिताएकी पिडित युवतीले २०५८ साल भदौ २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा प्रेम लामा विरुद्ध जाहेरी दिएको काभ्रेपलाञ्चोकका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार २५ वर्षसम्म फरार सुचीमा रहेका तमाङलाई काठमाडौं महानगरपालिका १५ बाट पक्राउ गरेको हो । पक्राउ परेका तमाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट मानव बेचविखन तथा ओसारपसार मुद्धामा पहिलो पटक म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।