
रामेछाप । रामेछापको मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ऐरमबासबाट यात्रु लिएर जाँदै गरेको बोलेरो मन्थली नगरपालिकाको वडा नम्बर ३ कै कठजोरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा परि स्थानीय अन्दाजी ६२ वर्षीय कृष्ण नारायण श्रेष्ठ र अन्दाजी १२ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष कृष्णगोपाल थापाले जानकारी दिनुभयो ।
बा १६ च ६४७६ नम्बरको बोलेरो दुर्घटनामा दर्जन बढी यात्रु घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी मन्थली अस्पताल पठाइएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।