images
images

जिरी नगरपालिकाले सार्वजनिक गर्याे दोस्रो चौमासिक अवधिको प्रगति विवरण (पूर्णपाठ सहित)

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ ।

नगरपालिकाले हिजो सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्षको हालसम्मको वित्तीय प्रगति विवरण, आम्दानी/खर्च र सेवा प्रवाहको बारेमा जानकारी दिएको हो । जसअनुसार जिरी नगरपालिकाले हालसम्म ४० प्रतिशत खर्च गरेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार चालु आर्थिक वर्ष जिरी नगरपालिकामा ५५ करोड ८४ लाख  ३८ हजारको कुल बजेटमा हालसम्म ४० दशमलव ७० प्रतिशत बजेट खर्च भएको छ ।

चालुतर्फ १८ करोड ४० लाख १२ हजार ९ सय ८३ रुपैंया अर्थात ४९ दशमलव ६४ प्रतिशत र पूँजीगततर्फ ४ करोड ३३ लाख ९९३ रुपैंया अर्थात २३ दशमलव ०५ प्रतिशत खर्च भएको विवरण प्रमुख प्रशासकीय अधिकृत सापकोटाले सार्वजनिक गर्नुभयो । यस्तै, आम्दानीतर्फ हालसम्म जिरी नगरले आन्तरिक आम्दानीतर्फ ६३ लाख १ हजार ८९३ रुपैंया अर्थात कुल आम्दानी अनुमानको ५४ दशमलव ७९ प्रतिशत आम्दानी गरेको छ ।

यो वर्ष जिरीमा १ सय ९३ वटा योजना सञ्चालनका लागि छनौट भएकोमा उपभोक्ता समिति मार्फतको ८६ वटा योजनाको अन्तिम भुक्तानी भएको र अधिकांश योजनाको सम्झौता सम्पन्न भएको नगरपालिकाले जनाएको छ । यसैगरी ठेक्का प्रकृयामार्फतको योजनाहरु सञ्चालन भएपनि सम्पन्न हुन बाँकी रहेको छ । खावा–लहरेमाने–चिपचिपे सडक योजना र हाटडाँडा वन कार्यालय जिरी हावा सडक कालोपत्रे तथा ढलान योजनाको करिब ७० प्रतिशत कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

यस्तै, गाई आनुवंशिक श्रोत केन्द्र, जिरी अस्पताल हुँदै वडा नम्बर ५ जाने सडकको दोस्रो चरणको कालोपत्रे ४० प्रतिशत र बौद्ध भुवनेश्वरी माविको छात्राबास निर्माणको २० प्रतिशत काम सम्पन्न भएको नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

जिरीमा बसपार्क निर्माणको योजनालाई बहुवर्षीय योजनाको रुपमा अघि बढाउनेगरी ठेक्का सम्झौता गरी काम थालिएको बताइएको छ । सार्वजनिक सुनुवाईमा प्रथम नगरप्रमुख टंक बहादुर जिरेल, कांग्रेस जिरीका नगर उपसभापति गणेश जिरेल, एकीकृत फ्रेण्डसिप साकोस जिरीका नायव प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्री, जिरी– ७ का स्थानीय युवाहरु लुकछिरि शेर्पा र नुर्ब शेर्पा तथा वडा नम्बर ८ का शुकु शेर्पाले नगरलाई आवश्यक सुझाव र सल्लाह तथा गुनासा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख मित्र बहादुर जिरेल र उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले मुख्य वक्ताको रुपमा सबै सुझाव र गुनासोको जवाफ दिनुका साथै आवश्यक प्रतिक्रिया दिनुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष खेटराज घिमिरे, ४ नम्बर वडाका अध्यक्ष पदेमान जिरेल, ५ नम्बर वडाका अध्यक्ष नर बहादुर जिरेल, ६ नम्बर वडाका अध्यक्ष मरिच बहादुर खड्का, ८ नम्बर वडाका अध्यक्ष कृष्ण कुमार खत्री र वडा नम्बर ९ का अध्यक्ष ज्ञान बहादुर पाख्रिन, वडा सदस्य सुन्तली सुनुवार र स्थानीय नागरिकहरुको सहभागीता थियो ।

प्रगति विवरण (पूर्णपाठ)

दोस्रो चौमासिक सार्वजनिक सुनुवाई प्रतिवेदन-२०८१

सार्वजनिक सुनुवाईका तस्विरहरु