images
images

दोलखा जिल्ला भित्रिने नाकामा कडाई, ३८ जना खरिढुंगाबाटै फिर्ता

  • २७ बैशाख २०७९, मंगलवार ०९:१९

जिरी (दोलखा) । स्थानीय तह निर्वाचनको मतदान मिति नजिकिँदै गर्दा दोलखा प्रहरीले जिल्लाको नाकाहरुमा चेकजाँचमा कडाइ गर्न थालेको छ ।

दोलखा प्रहरीले जिल्लाबाहिरका मानिसहरुलाई यो बेला जिल्ला भित्रिनबाट कडाई गर्न थालेको हो । हिजो बेलुकी दोलखा प्रवेश गर्न लागेका जिल्ला बाहिरका ३८ जनालाई दोलखा प्रहरीले खरिढुङ्गा नाकाबाट फर्काईदिएको छ । खरिढुङ्गा नाका हुँदै पाँच वटा स्कारपियो गाडिमा जिल्ला भित्रिन लागेका ३८ जना युवाहरुलाई खरिढुंगाबाटै फर्काइदिएको दोलखाका प्रहरी निरिक्षक सुशिल केसीले जानकारी दिनुभयो । उनीहरुलाई प्रहरीले केहि घण्टा नियन्त्रणमा लिएर सोधपुछ गरेपछि जिल्लाबाहिरको रहेको र जिल्लाबासी मतदाता नभएको खुलेपछि सिमा नाकाबाट फर्काईएको प्रहरी निरिक्षक केसीले बताउनुभयो । गाडिमा सवार युवाहरुले कालिञ्चोक घुम्न आएको बताएपनि निर्वाचनमा बुथ कब्जा गर्न आएको हुन सक्ने आशंका गरिएको छ ।

यसअघि आइतबार तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेबाट पक्राउ परेका १० जना शंकास्पद युवाहरुलाई पनि सोधपुछ गरी हिजो साँझ नै जिल्ला बाहिर पठाएको प्रहरीले जनाएको छ । निर्वाचन बिथोल्न तथा बुथ कब्जा गर्न झुले प्रवेश गरेका शंकास्पद जिल्ला बाहिरका १० जना युवकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

निर्वाचन नजिकिएपछि जिल्लामा शंकास्पद व्यक्तिहरु भित्रिन थालेपछि प्रहरीले नाकामा कडाइ गर्न थालेको हो । आइतबार तामाकोशी २ झुलेबाट जिल्लाबाहिरका १० जना युवकहरु पक्राउ परेकोमा सोही दिन राती तामाकोशी ३ जफेमा विस्फोटक पदार्थ विस्फोट भएको थियो ।