images
images

तामाकोशीको झुलेका स्वतन्त्र उम्मेदवार र प्रस्तावक सहित १९ जना कांग्रेसबाट निष्कासित

  • २७ बैशाख २०७९, मंगलवार १२:२६

दोलखा । नेपाली कांग्रेस दोलखाले तामाकोशी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष र वडासदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका चार जना उम्मेदवार सहित १९ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको निर्णय विपरित वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कृपाध्वज कार्की सहित १९ जनालाई कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको हो । नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामाले आज विज्ञप्ति जारी गर्दै झुलेमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका वडाध्यक्ष र सदस्यका उम्मेदवार सहित उनीहरुका प्रस्ताव र समर्थकलाई समेत पार्टीबाट निष्कासन गरिएको जानकारी दिनुभयो । जसअनुसार वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका कार्की उनका प्रस्तावक कर्ण बहादुर कार्की र समर्थक बासुदेव कार्की, सदस्यमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका नानीकाजी तमाङ, उनका प्रस्तावक हरिशरण केसी र समर्थक चक्रध्वज कार्कीलाई कांग्रेसले कारवार्ही गरेको छ ।

यस्तै दलित महिला सदस्यतर्फ स्वतन्त्र उम्मेदवारी दिएकी संगिता विक उनका प्रस्ताव प्रदिप तमाङ र समर्थक शम्भु कार्की, सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएकी इन्दिरा कार्की उनका प्रस्ताव अच्चुत कार्की र समर्थक सुजन कार्की, वडा पालिकाका उपभासपति वरुण पाख्रिन, पालिका सचिव राजेन्द्र योजन पनि कारवार्हीमा परेका छन् । यसैगरी क्षेत्रीय प्रतिनिधिहरु विनोद कार्की र धनबहादुर योन्जनलाई पनि कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवार्ही गरेको हो । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउन छाडेर स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुलाई कारवार्ही गरिएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिनुभयो ।