
जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट नगरप्रमुखमा गेल्बु शेर्पा र उपप्रमुखमा तेजबहादुर तामाङ चुनावी मैदानमा छन् ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिरी नगरप्रमुख र उपप्रमुख पदका लागि शेर्पा पानीको धारा निर्वाचन चिन्ह र तामाङ पार्टीको आधिकारीक चिन्ह हसिया हथौडामा निर्वाचन लड्दैछन् । स्वतन्त्र उम्मेदवारी दिएका शेर्पालाई निर्वाचन चिन्ह फरक भएपनि पार्टीले आफ्नो आधिकारीक उम्मेदवार बनाइसकेको छ । सो सँगै यतिखेर उनी नगरप्रमुखका लागि मैदानमा छन् । नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीका अध्यक्ष समेत रहेका उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि चुनाव लडेर दोस्रो ठूलो मत प्राप्त गरी पराजित भएका थिए । तर, यो पटक भने माओवादी केन्द्रप्रति जनताको आकर्षण राम्रो रहेकाले निर्वाचन जितेरै छाड्ने शेर्पाको दावी छ । उनी यो पटकको निर्वाचनमा बलियो दाबेदारको रुपमा प्रस्तुत भएका छन् । मुख्य दावेदारका रुपमा शेर्पा चुनावी मैदानमा उत्रिएपछि र पार्टीले पनि आधिकारीक उम्मेदवार बनाउँदा यतिखेर विपक्षी दलहरुले गेल्बु शेर्पाको स्वतन्त्र उम्मेदवारी र चुनाव चिन्हप्रति खण्डन समेत गर्न थालेका छन् । आफ्नो पक्षमा माहोल बढेपछि र जित सुनिश्चित भइसकेपछि यतिखेर विपक्षीहरु अतालेर गेल्बु शेर्पाको उम्मेदवारी फिर्ता हुन्छ भनी गलत प्रचारमा हिडेकोे पाइएकोे शेर्पाले बताए । उनी जिरीमा शेर्पा समुदायका प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।
यसैगरी, उपप्रमुखका उम्मेदवार तेज बहादुर तामाङ पनि नेकपा माओवादी केन्द्रका सक्रिय नेता हुन् । उनी नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीका इन्चार्जका रुपमा रहेका छन् । तामाङ जिरीमा तामाङ समुदायका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । यो पटकको निर्वाचनमा जित आफ्नो पक्षमा रहेको उनको विश्वास छ ।