images
images

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत, माओवादीबाट जितेका सांसदले गरे ‘फ्लोर क्रस’

  • २८ जेष्ठ २०८१, सोमबार १७:४५

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ मत परेको छ भने २८ मत विपक्षमा र १ मत तटस्थमा परेको छ । नेकपा एमालेका २२ र नेकपा माओवादी केन्द्रका ६ सहित २८ सांसदले पाण्डेले मागेको विश्वासको प्रस्तावका विपक्षमा मत हालेका छन् । नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, माओवादी केन्द्रका १ र स्वतन्त्र एक सांसद गरी पाण्डेको पक्षमा ३१ सांसदले हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले आज ६० सदस्यीय प्रदेशसभामा बहुमत, ३१ सांसदको समर्थन पाएका छन् । नेकपा माओवादी केन्द्रको निर्वाचन चिन्हबाट निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र १ बाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएका छन् । देवकोटा बाबुराम भट्टराई निकट हुन् । देवकोटाले फ्लोर क्रस गरेपछि एमाले र माओवादी सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।