रामेछाप । रामेछापमा बोलेरो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् ।
गएराति भएको दुर्घटनामा परी मन्थली नगरपालिका–७ कल्लेरीकी ६५ वर्षीया माया विकको मृत्यु भएको हो । रामेछापको मन्थलीबाट खाँँडादेवी गाउँपालिका–९ पिङखुरीतर्फ यात्रु बोकेर जाँदै गरेको प्रदेश–३–०१–०२३ च ३९२९ नम्बरको बोलेरो अचानक ब्रेकफेल भई दुर्घटना हुँदा विकको मृत्यु भएको रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते भएकाहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका–९ का ७० वर्षीया नरमाया विक, सोही स्थानका हैटे तामाङ र २८ वर्षीय रुपक तामाङको भने अवस्था गम्भीर रहेको रामेछाप प्रहरीले जनाएको छ । उनीहरुको काठमाडौँमा र मन्थली अस्पताल रामेछापमा उपचार भैरहेको छ । बोलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको र गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।