काठमाडौँ । सिन्धुपाल्चोकका एक दम्पत्ति नेपाली महिलाहरुलाई वैदेशिक रोजगारीको नाममा विदेशमा लगेर बेचबिखन गर्ने कार्यमा संलग्न रहेको खुलेको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ का ३२ वर्षीय ङेमा लामा पक्राउ परेपछि यस्तो तथ्य खुलेको हो । वैदेशिक रोजगारीका लागि श्रीमानले नेपाली महिलाहरुलाई कतार पठाउने र कतारमा रहेकी उनकी श्रीमतीले बेचबिखन गर्ने गरेको अनुसन्धानबाट खुलेको मानव बेचबिखन अनुसन्धान व्युरोले जनाएको छ । उनीहरुले नेपाली महिलाहरुलाई कतार पठाउनका लागि नक्कली कागजात समेत बनाउने गरेको पाईएको व्युरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार ङेमाले आफ्नो श्रीमती पनि विदेशमै रहेको र राम्रो काम तथा मासिक ५० हजार आम्दानी हुने प्रलोभनमा पारेर कतारमा महिला पठाउने गरेको अनुसन्धानबाट पुष्टी भएको छ ।
लामा दम्पत्तिले गत कात्तिक ५ गते एक महिलालाई क्लिनरको काममा भन्दै ९५ हजार लिएर कतार पठाएको र कतार पुगेपछि कुवेती नागरिकको घरमा ५ लाखमा बेचबिखन गरेको पाईएको छ । ती महिला ३ महिनापछि भागेर कुवेतस्थित नेपाली दुतावासको सहयोगमा नेपाल फर्किएपछि दिएको उजुरीका आधारम लामा दम्पत्तिको गठी धन्दा बाहिर आएको हो । पक्राउ परेका ङेमालाई मानव बेचबिखनको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।