images
images

सहकारीको रकम अपचलन गरेको आरोपमा उप्रेतीविरुद्ध २४० वटा जाहेरी

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीविरुद्ध २४० बचतकर्ताले उजुरी दिएका छन् ।

उप्रेतीविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोपमा २४० बचतकर्ताले जाहेरी दिएका हुन् । अझै जाहेरी दर्ता हुने क्रम जारी रहेको र हालसम्म पीडितहरुले ९ करोड विगो असुल उपर गर्न माग गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । उजुरी गर्नेहरुको चाप बढेपछि अनुसन्धान फाईल प्रहरी वृत्त महाराजगञ्जबाट भद्रकालिस्थित परिसरमा झिकाईएको छ ।

सहकारीको रकम अपचलनको आरोपमा असार १९ गते पक्राउ परेका उनी हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उप्रेतीमाथि पाँच वटा सहकारी एकिकरण भएर बनेको आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ । दोलखाको वैतेश्वर गाउँपालिकास्थित नाम्दु घर भएका उप्रेती पछिल्लो दुई दशकदेखि नेकपा एमालेका सहकारी तथा गरिबी निवारण विभागमा बसेर काम गर्दै आएका थिए ।

यसैबीच, काठमाडौँ जिल्ला अदालतले आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा आवद्ध १२ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । सञ्चालक समिति र लेखा समितिका सदस्यहरुलाई पक्राउ अनुमति भएसँगै सहकारीमा भएको ८ अर्ब १८ करोड बचत जोखिममा परेको छ । ५५ वटा सेवा केन्द्र रहेको आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा ५१ हजार सदस्य रहेका छन् ।