छायांकनमा निस्कँदै गर्दा फिल्म ‘दुई नम्बरी’ले आगामी कात्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । भाईटीकाको एक हप्ता लामो विदा खान फिल्मले कात्तिकलाई प्रदर्शन मिति रोजेको थियो । तर, मंगलवार निर्माण टिमले ट्रेलर बराबरको टिजर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गर्यो । अब यो फिल्म आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
कात्तिक ४ मा अरु पनि ठूला नेपालीसँगै विदेशी फिल्म आउने पक्का हुनु र कात्तिक ११ गतेलाई महजोडीको फिल्म ‘महापुरुष’ले प्रदर्शन मिति घोषणा गरेकाले ‘दुई नम्बरी’को प्रदर्शन मिति दुई हप्ता अगाडि सारिएको चर्चा छ ।
निर्माता किरण नेपालीले यसअघि फिल्म ‘पोइ पर्यो काले’ बनाएका थिए । उनी यसको सिक्वेल निर्माणको तयारीमा समेत छन् । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुई नम्बरी’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, पुष्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, कविता आले, वुद्दि तामाङ, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङलगायतको अभिनय हेर्न सकिनेछ ।










