वर्षौंदेखि प्रायः नेपाली फिल्ममा अभिनेत्रीहरुलाई शो–पिसको रुपमा प्रस्तुत गरिँदै आएको छ । हिरोको वरिपरी नाच्ने, समस्या पर्दा बचावमा चिच्याउनेबाहेक अभिनेत्रीहरुलाई गम्भीर प्रकारको भूमिकामा प्रस्तुत गर्न मेकरहरुले नै जोखिम उठाउन चाहेको देखिँदैन । यद्यपि, केही अपबाद फिल्ममा भने अभिनेत्रीहरुले वास्तवमै अलग प्रकारको भूमिकामा आफूलाई सशक्त रुपमा प्रस्तुत छन् ।
नेपाली फिल्मको स्टेरियोटाइप सोचबाट बाहिर निस्कने प्रयास गरिरहेकी अभिनेत्रीमा सृष्टि श्रेष्ठ पनि पर्छिन् । यतिबेला उनी फरक खालको चरित्रमा आफैंमाथि ‘एक्सपेरिमेन्ट’ गरिरहेकी छन् । आगामी भदौ ३ बाट प्रदर्शन हुन लागेको फिल्म ‘माइकल अधिकारी’ र भदौ १० मा प्रदर्शन हुन लागेको फिल्म ‘राधा’मा उनले फरक–फरक चरित्र बाँचेकी छन् । जुन उनका लागि नै चुनौतीपूर्ण थिए । सृष्टि आफूलाई अलग खालको चरित्रमा अभिनय गर्न मन पर्ने बताउँछिन् ।
बेलायतमा हुर्किएकाले उनी नेपालको ग्रामिण जनजीवनसँग नजिक हुन पाइनन् । यसले गर्दा पनि गाउँको कथा र चरित्रमा काम गर्न मन लाग्ने गरेको उनको भनाई छ । माइकल अधिकारीमा उनले अरुका लागि बच्चालाई जन्म दिन कोख भाडामा लगाउने विवाहित महिलाको भूमिकामा अभिनय गरेकी छन् । उनी यो फिल्ममा काम गर्न राजी हुनुको कारण बलियो स्क्रिप्टलाई मान्छिन् । पहिलो पटक कमिकल क्यारेक्टरमा काम गरेकाले आफ्नो लागि नयाँ अनुभव भएको उनको कथन छ । फिल्ममा उनको जोडीको रुपमा अभिनेता सौगात मल्ल छन् ।










