images
images

मेलुङ गाउँपालिकामा यस्तो बन्यो आकर्षक बालमैत्री धारा

मेलुङ (दोलखा) । मेलुङ गाउँपालिकामा १०० वटा बालमैत्री धारा निर्माण गरिएको छ ।

पालिकाले बालबालिकालाई समेत लक्षित गरी एक वर्षको अवधिमा मात्रै १०० वटा बालमैत्री धारा निर्माण गरेको हो । गत आर्थिक वर्ष एक घर एक धारा कार्यक्रम अन्तर्गत ३५० वटा धारा निर्माण भएकोमा १०० वटा बालमैत्री धारा निर्माण भएको पालिकाले जनाएको छ । मेलुङ गाउँपालिकाकै विकट ठाउँको रुपमा रहेको वडा नम्बर ५ को कल्छे, वडा नम्बर ४ को चित्रे र वडा नम्बर ७ को धेरै स्थानमा बालमैत्री धारा निर्माण भएको पालिका अध्यक्ष हिरा कुमार थोकरले बताउनुभयो । उहाँका अनुसार पालिकाको सबैजसो टोलबस्तीमा पानीको ट्याङकीको व्यवस्था भएको छ ।

पछिल्लो पटक कल्छेमा मात्रै २५ लाख लगानीमा ३ वटा ट्यांकी, ३० वटा नयाँ धारा निर्माण र ११ वटा पुरानो धारा मर्मत गरिएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्ष २ करोड १३ लाख रुपैंया बजेटमा धाराहरु निर्माण भएको इन्जिनियर सुमन नेपालले जानकारी दिनुभयो । जसमा प्रदेश सरकारको विशेष अनुदान अन्तर्गत एक करोड बजेट थियो । यो वर्ष वडा नम्बर ४ मा ६० वटा, वडा नम्बर ७ मा १६९ वटा र बाँकी वडा नम्बर ५ मा निर्माण भएको पालिकाले जनाएको छ ।

साथै, मेलुङ गाउँपालिकाको पानीको अभाव रहेका विभिन्न गाउँबस्तीमा धेरै खानेपानीको ट्याङकीहरु पनि निर्माण भएका छन् । चित्रेको दुई गाउँमा मात्रै दुई वटा ट्यांकी र ५६ वटा बालमैत्री धारा निर्माण भएको स्थानीय किरण खड्काले बताउनुभयो । सडक, खानेपानी लगायतका पूर्वाधार विकासलाई प्राथमिकतामा राखी विकास निर्माणको कामलाई अघि बढाइरहँदा बालमैत्री धाराहरु पनि निर्माण गरिएको पालिका उपाध्यक्ष गायत्री आचार्यले बताउनुभयो ।

बालमैत्री धारा निर्माण भएपछि बालकालिकालाई समेत सहज भएको छ भने अर्काेतर्फ धाराको मोडल आकर्षक देखिएकोे छ ।