काठमाडौं । देशभर ३ हजार ८४ जना डेंगु संक्रमण पुष्टि भएको छ ।
गत साता २३ सय ६५ र यो साता ७ सय १९ जनामा पुष्टि भएसँगै डेंगु संक्रमणको संख्या ३ हजार ८४ जना पुगेको हो । बागमती प्रदेशको पनि धेरै जिल्लामा डेंगु संक्रमण फेला परेको छ । जस अनुसार काभ्रेपलाञ्चोकमा ७१ जना, काठमाडौंमा ३ सय ७ जना, मकवानपुरमा ८४ जना, चितवनमा १ सय ३० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा पनि डेंगु संक्रमण देखिएको छ ।
डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान समेत गरिएको छ । देशभरका ७७ मध्ये हालसम्म चार जिल्ला डेंगुबाट सुरक्षित छन् । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ ।