एजेन्सी । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले पनि पदबाट राजिनामा दिएका छन् ।
बंगलादेशमा अन्तरिम सरकार गठन भईसकेपछि पनि विद्यार्थीहरुको आन्दोलन नरोकिएपछि प्रधानन्यायाधीशले पनि राजीनामा दिएका हुन् । उनले राजीनामा दिएको अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आन्दोलनकारी विद्यार्थीहरूले आज सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिएका हुन् ।
विभेद विरोधी आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै प्रधानन्यायाधीश सहित पुनरावेदन अदालतका न्यायाधीशहरूको राजीनामा माग गरेका थिए । विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरी पदबाट हट्न माग गरेसँगै प्रधानन्यायाधीश हसनले राजीनामाको घोषणा गरेका हुन् ।
आन्दोलनकारी विद्यार्थीहरूले प्रधानन्यायाधीश हसनले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा काम गरिरहेको आरोप लगाउँदै १ बजेभित्र राजीनामा गर्न अल्टिमेटम नै दिएका थिए । बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा आन्दोलनकारी विद्यार्थीसमेत सहभागी अन्तरिम सरकार गठन भए पनि आन्दोलन रोकिएको छैन ।