images
images

सरकारले आलोचना सहेन, प्रधानमन्त्री विरुद्ध स्टाटस लेखेकै आरोपमा दोलखाका युवक हिरासतमा

जिरी(दोलखा) । देशमा नयाँ सरकार गठन भएको भर्खरै दुई महिना हुँदैछ । यो बीचमा सरकारले देश निर्माण र देश विकासका लागि कति ध्यान दियो वा दिएन ! विस्तारै लोखाजोखा होला तर, पछिल्लो पटक सरकारले आफु र आफ्नो नेतृत्व विरुद्ध बोल्ने युवाहरुलाई भने धमाधम पक्राउ गरिरहेको छ ।

केही दिन अघि मात्रै प्रहरीले दोलखाको शैलुङ गाउँपालिका–७ का २९ वर्षीय युवकलाई काठमाडौंको न्युरोडबाट पक्राउ गर्याे । उनलाई पक्राउ गर्नुको मुख्य कारण हो, प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्नु । आलोचना गर्नेहरु विरुद्ध अनुदार बन्दै गएको सरकारले यही भदौ २० गते शैलुङ गाउँपालिका–७ फस्कु घर भई काठमाडौं बस्दै आएका मानबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

कार्कीले सामाजिक सञ्जाल फेसबुकमा भ्रष्टाचारी भनेर विरोधमा उत्रिने तथा जुलुस निकाल्नेहरुलाई सरकारले साइबर कानुन भन्दै पक्राउ गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा अनफलो गर्नेहरुलाई पनि केही कानुन बन्छकी ? भन्दै प्रश्न गरेका थिए ।

साथै उनले प्रधानमन्त्री ओलीको विरुद्धमा आलोचना गर्नुपर्छ भन्दै लेखेर टुँडिखेलको भिडियो पोष्ट गरेको भन्दै ब्युरोमा उजुरी समेत परेको थियो । उनलाई अहिले विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्धा चलाइएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता (एसपी) दीपकराज अवस्थीले कार्कीविरुद्ध पाँच दिनको म्याद थप भएको बताएका छन् ।

सामाजिक सञ्जालमा कार्कीले एउटा भिडियो पोष्ट गरेको आधारमा आफुहरुसँग उजुरी आएपछि उनलाई पक्राउ गरी ५ दिनको म्याद थप गरिएको प्रवक्ता अवस्थीको भनाई छ ।
प्रहरीले एउटा भिडियोको आधारमा आएको उजुरीपछि पक्राउ गरेको बताएपनि कार्की विरुद्ध प्रधानमन्त्री ओली लगायतका नेताहरुलाई गाली गरी सामाजिक सञ्जाल मार्फत समाज भड्काउन खोजेको गम्भीर आरोप छ ।

महाबौद्धको एक मःम पसलमा काम गर्दै आएका उनले नेताहरुको कारण देश बिग्रँदै गएको भन्दै बंगलादेशमा जस्तै नेपालमा पनि आन्दोलन गर्नुपर्छ भनेर लेख्दै आएका थिए । तर, सरकारले उक्त आलोचना सहन गर्न सकेन । अन्ततः उनलाईनै प्रहरीले हिरासतमा लियो ।

विशेषगरी उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली विरुद्ध आक्रमक ढंगले स्टाटस लेखेपछि पक्राउ गरेको बुझिएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता हुन् । कार्की पक्राउ परेपछि रास्वपा दोलखाले विज्ञप्ती जारी गरी रिहाईको माग गरेको छ । उनी मात्रै नभएर प्रधानमन्त्री विरुद्ध लेख्ने अन्य धेरै युवाहरु पक्राउ परिसकेका छन् ।