images
images

योजना सम्झौता सहित यी ६ सेवा बोकेर वडा–वडा पुगे जिरीका जनप्रतिनिधि र कर्मचारी

  • २५ भाद्र २०८१, मंगलवार २१:१७

दोलखा (जिरी) । दोलखाको जिरी नगपालिकाले एकीकृत घुम्ती शिविर मार्फत वडा–वडाबाटै सेवाग्राहीलाई सेवा दिन थालेको छ ।

आजदेखि एकीकृत घुम्ती शिविर सञ्चालन गरी नगरले सेवाग्राहीहरुलाई वडा–वडामै भेला गराएर सेवा दिन थालेको हो । जिरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु एकीकृत सेवा लिएर गाउँ–गाउँ पुगेका छन् ।

आज पहिलो दिन नगरप्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा लगायत अन्य कर्मचारीहरु एकीकृत सेवा लिएर वडा नम्बर २ को कार्यालय पुगेका थिए । नगरप्रमुख जिरेलले आज जिरी–२ मा केही सेवाग्राहीसँग सुझाव र गुनासा समेत लिएका छन् ।

नगरपालिकाले घुम्ती शिविर मार्फत चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत योजना तथा कार्यक्रम सम्झौता, सामाजिक सुरक्षा भत्ता वितरण, जेष्ठ नागरिक परिचयपत्र, अपाङ्गता परिचयपत्र नवीकरण तथा वितरण, सामान्य स्वास्थ्य परिक्षण सेवा र पशु स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

गत आर्थिक वर्षदेखि जिरी नगरपालिकाले योजना सम्झौतादेखि लिएर जनतालाई दिइने अन्य सेवाहरु वर्षमा एक पटक घुम्ती शिविरकै आयोजना गरी दिने गरेको छ । नगरपालिकाले आजदेखि असोज २ गतेसम्म उक्त शिविर सञ्चालन गर्नेछ । भोली वडा नम्बर ६ का नागरिकहरुलाई सो सेवा दिइनेछ ।

यस्तै भदौ २७ गते वडा नम्बर ४, भदौ २८ गते वडा नम्बर ३, भदौ २९ गते वडा नम्बर १, भदौ ३० गते वडा नम्बर ७, भदौ ३१ गते वडा नम्बर ९, असोज १ गते वडा नम्बर ८ र असोज २ गते वडा नम्बर ५ मा एकीकृत घुम्ती शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले वडा–वडा गएर सेवा दिन थालेपछि नागरिकहरुलाई सहज हुने भएको छ । घुम्ती शिविरमा सम्बन्धीत वडामा सम्बन्धित वडाका अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु पनि खटिनेछन् ।