images
images

रामेछापस्थित नुप्चे लिखु जलविधुत आयोजनाको ६५ लाख कित्ता साधारण सेयर निष्कासन हुँदै

  • २४ मंसिर २०७९, शनिबार ०७:४३

जिरी (दोलखा) । रामेछापस्थित नुप्चे लिखु जलविद्युत आयोजनाको ६५ लाख कित्ता साधारण सेयर निष्कासन हुने भएको छ ।

रामेछापमा ५७ दशमलव ५ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको भिजन इनर्जी एण्ड पावर लिमिटेडले ६५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले १ सय रुपैयाँ मूल्य अंकित ६५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेडसँग हिजो सम्झौता गरेको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष टि.एन. आचार्य र क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

जारी पुँजीको १० प्रतिशतले हुन आउने ३२ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र बाँकी १० प्रतिशतले हुन आउने ३२ लाख ५० हजार कित्ता गरी २० प्रतिशत (६५ लाख कित्ता) को सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले निर्माण गरिरहेको आयोजनाको निर्माण कार्य हालसम्म करिब ४० प्रतिशतभन्दा बढी पूरा भएको छ ।