images
images

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन घट्यो

  • २४ मंसिर २०७९, शनिबार १३:५०

दोलखा । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन घट्न थालेको छ ।

४ सय ५६ मेगावाट क्षमताको यो आयोजनाबाट हाल औषतमा ३ सय ८० देखि ४ सय मेगावाटसम्म मात्रै विद्युत उत्पादन भइरहेको हो । कात्तिक १५ गतेबाट आयोजनाको उत्पादन क्रमश घट्दो क्रममा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका विद्युत केन्द्र प्रमुख पूर्ण गोपाल रञ्जितले जानकारी दिनुभयो । उहाँका अनुसार नदिमा पानीको बहाव कम हुन थालेपछि आयोजनाले पुर्ण क्षमताका विद्युत उत्पादन गर्न नसकेको हो । बर्खायाममा आयोजनाबाट दैनिक ४ सय ५६ मेगावाट विद्युत उत्पादन हुँदै आएकोमा सुख्खायाम सुरु भएसँगै क्रमश उत्पादन घट्दै गएको हो । आयोजनाका अनुसार हाल नदिमा पानीको वहाव २० किलोमिटर परसेकेन्डमा झरेको छ । नदिमा पानीको वहाव घटेसँगै आयोजनाले ड्याममा पानी जम्मा गरेर विहान र वेलुकी एक दुई घण्टा विद्युत उत्पादनका लागि पानी छोड्ने गरेको छ । त्यसो गर्दा दैनिक ३ सय ८० देखि ४ सय मेगावाटसम्म विद्युत उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

प्रत्येक वर्षको सुख्खायाम सुरु भएसँगै नदिमा पानीको वहाव कम हुँदा आयोजनाबाट विद्युत उत्पादन पनि कम हुने गरेको छ । सुख्खायाम सुरु भएसँगै आयोजनाले अहिले प्रतियुनिट ७ रुपैँया १७ पैसामा विद्युत विक्रि गर्न थालेको छ । कात्तिक १५ गतेदेखि जेठसम्म सुख्खा मौसम हुने भएकाले यो समयमा आयोजनाबाट उत्पादन हुने विद्युतको क्षमता क्रमश घट्दै जाने आयोजनाका विद्युत केन्द्र प्रमुख रञ्जितले बताउनुभयो ।

आयोजनाले २०७८ साल साउनदेखि नियमित विद्युत उत्पादन सुरु गरेको थियो भने २०७८ भदौ १० गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । विद्युत उत्पादन सुरु भएको १७ महिनाको अवधिमा आयोजनाले १० अर्ब भन्दा बढी आम्दानी गरिसकेको जनाएको छ ।