दोलखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका शिर्षस्थ नेताहरु भोली दोलखा आउने भएपछि स्वागतका लागि भव्य तयारी गरिएको छ ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ कार्यक्रम अन्र्तगत अध्यक्ष ओली सहितका एमालेका शिर्षस्थ नेताहरु भोली दोलखा आउने भएका छन् ।
प्रेस चौतारी नेपाल दोलखाको आयोजनामा आज विहान भएको पत्रकार सम्मेलनमा एमालेका नेताहरुले भव्य स्वागतको तयारी भएको बताएका छन् । एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले पार्टी अध्यक्ष सहितका शिर्षस्थ नेताहरुको स्वागतका लागि विभिन्न समितिहरु गठन गरिएको जानकारी दिनुभयो । जसअनुसार १४ वटा अस्थायी स्वागत गेट निर्माण गरिएको छ भने खाद्य व्यवस्थापनको जिम्मेवारी प्रदेशसभा सांसद भरत बहादुर केसीलाई तोकिएको छ । मञ्च व्यवस्थापनमा नविन कुमार लामा र प्रचारप्रसार समितिको जिम्मेवारी चिरन्जिवी मास्केलाई दिइएको छ ।
एमाले अध्यक्ष ओली सहितका केन्द्रिय नेताहरु भोली काभ्रेपलाञ्चोकको धुलिखेलबाट प्रस्थान गरी दोलालघाटमा नेता कार्यकर्ताहरुसँग भेटघाट कार्यक्रम सकेर दोलखा आउनेछन् । खरिढुंगामा खाना खाएर उनीहरु बोचमा भेटघाट र स्वागत कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि सदरमुकाम चरिकोट बजारमा सांस्कृतिक झाँकी सहित आयोजित सभामा सहभागी हुने कार्यक्रम तय भएको छ ।
चरिकोटको सभा सम्पन्न भएपछि अध्यक्ष ओली सहितका शिर्ष नेताहरु मेलुङ गाउँपालिकाको सितलीमा किसानसँगको भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनीहरुलाई रामेछाप विदाई गर्ने कार्यक्रम तय भएको एमाले दोलखाले जनाएको छ ।










