जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।
नगरपालिकाले हिजो जिरी–१ स्थित स्टोन पार्कमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी विकास निर्माणको प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था, नगरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।
नगरपालिकाले चालु आर्थिक वर्ष उपभोक्ता समिति मार्फत १६४ र ठेक्का मार्फत १७ वटा गरी १८१ वटा योजना सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
नगरले उपभोक्ता समिति मार्फत सम्पन्न गर्ने योजनामध्ये हालसम्म घुम्तीशिविर मार्फत ९० वटा सम्झौता गरेको र अझै ४५ दशमलव १२ प्रतिशत योजनाहरु सम्झौता हुन बाँकी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ठेक्का मार्फत सञ्चालन हुने दुई वटा योजना सम्झौता हुँदा केही योजनाहरु ठेक्का प्रकृयामा रहेका छन् । खावा–लहरेमाने–चिपचिपे सडक योजना र हाटडाँडा वन कार्यालय जिरी हाबा सडक कालोपत्रे तथा ढलान योजनाको ठेक्का सम्झौता भैसकेको नगरले जनाएको छ ।
गाई आनुवांशिक श्रोत केन्द्र, जिरी अस्पताल हुँदै वडा नम्बर ५ जाने बाटोको पहिलो चरणको कालोपत्रे योजना सम्पन्न भैसकेको छ । तर, दोस्रो चरणको कालोपत्रे योजनाको प्राविधिक प्रस्ताव स्वीकृत भई ठेक्का प्रकृयाको लागि अन्तिम तयारी भैरहेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।
लामो समयको पर्खाईपछि जिरीमा बन्न लागेको जिरी बसपार्क बहुवर्षीय योजनाको रुपमा ठेक्का प्रकृया अघि बढाउने तयारी गरिएको छ । बसपार्क बनाउनका लागि तयार पारिएको डीपीआर नगरकार्यपालिकाबाट स्वीकृत गरी ठेक्का प्रकृयाको तयारी भैरहेको नगरपालिकाको कार्यप्रगति विवरणमा उल्लेख छ । जिरी नगरपालिकाले फागुन मसान्तभित्र सबै योजनाको सम्झौता र जेठ मसान्तसम्म भुक्तानी गर्ने नीति लिएको छ ।
नगरको चालु आर्थिक वर्ष ५५ करोड ९ लाख ८८ हजार स्वीकृत बजेट रहेकोमा चालुतर्फ ३६ करोड ५७ लाख २८ हजार र पुँजीगततर्फ १८ करोड ५२ लाख ६० हजार रहेको छ ।
विनियोजित बजेटमध्य कात्र्तिक मसान्तसम्म चालुतर्फ ७ करोड ७६ लाख ६३ हजार ४ सय ६५ रुपैंया अर्थात २१ दशमलव २३ प्रतिशत तथा पुँजीगततर्फ ५० लाख ८० हजार ९ सय १२ रुपैंया अर्थात २ दशमलव ७४ प्रतिशत खर्च भएको प्रगति विवरणमा उल्लेख छ ।
यसैगरी, आन्तरिक आम्दानीतर्फ चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड १५ लाख आम्दानी गर्ने अनुमान लिएको नगरको कात्र्तिक मसान्तसम्म ३४ लाख लाख ४४ हजार ४ सय २ रुपैंया अर्थात २९ दशमलव ९५ प्रतिशत आम्दानी भएको देखिएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले आफ्नो प्रतिवेदन सार्वजनिक गरिसकेपछि सरोकारवाला तथा नागरिकहरुले धमाधम जिज्ञासा, सल्लाह र सुझाव राखेका थिए । सडक, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र सम्मको जिज्ञासामा नगरप्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, जिरी–१ का अध्यक्ष आङपासाङ शेर्पा र सम्बन्धित शाखाका कर्मचारीहरुले नागरिकको जवाफ दिनुभएको थियो ।
विगतको सार्वजनिक सुनुवाईमा भन्दा हिजो भएको सुनुवाईमा धेरै स्थानीय नागरिकहरुले खुलेरै आफ्नो सल्लाह, सुझाव र गुनासो राखेका थिए । सो सवालमा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्ष शेर्पा लगायतका जनप्रतिनिधिहरुले जनताको सुझाव र प्रतिक्रिया अनुसार नै आफुहरु अघि बढिरहेकोले सकेसम्म सबै क्षेत्रको सम्बोधन गरेर विकास गर्न चाहेको बताउनुभयो ।
प्रतिवेदनको विस्तृत विवरण हेर्न यो लिंकमा क्लिन गर्नुहोस ।