images
images

सिन्धुपाल्चोकमा १३ तोला सुन चोरी गर्ने गिरोह पक्राउ

  • २७ पुष २०७८, मंगलवार ०१:०६

काठमाडौं ।सिन्धुपाल्चोकमा चोरी गर्ने गिरोहका चार जना पक्राउ परेका छन् ।

दिनदाहडै सदरमुकाम क्षेत्रबाट एक लाख नगदसहित १३ तोला सुन चोरी गर्ने गिरोहका चार जनालाई प्रहरीले १३ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सुनकोसी गाउँपालिकाकी २० वर्षीय कञ्चन पराजुली, इन्द्रावती गाउँपालिका वडा नम्बर १० का २४ वर्षीय मनिष सुन्दास, इन्द्रावती गाउँपालिका वडा नम्बर ९ भिमटारका २५ वर्षीय वुद्ध तामाङ र भिमटारकै २६ वर्षीय विक्कि भनिने अनिल तमाङ रहेका छन् । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठको सदरमुकामस्थित घरबाट गत पुस १२ गते एक लाख नगदसहित १३ तोला सुन चोरी भएको थियो । घरमा कोही नभएको मौका छोपी दिउँसै घरमा चोरी भएपछि श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिएको थिए । सोहीअनुसार प्रहरीले घरमा डेरागरी बस्ने पराजुलीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले तीन जना युवाको सहयोगमा चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले चोरीमा प्रयोग भएको एउटा मोटरसाइकल, ६ तोला सुन, केही नक्कली सुन समेत बरामद गरेको छ । चोरीमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भएकाले अनुसन्धान भइरहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो ।