images
images

बागमती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले माघ ३ गते विश्वासको मत लिने

  • २७ पुष २०७९, बुधबार ०८:०२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले माघ ३ गते विश्वासको मत लिनुहुने भएको छ ।

हिजो बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मरकट्टेलले माघ ३ गते विश्वासको मत लिनुहुने भएको हो । माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने विषयमा प्रदेशसभालाई जानकारी गराइसकिएको बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगनाथ थपलियाले जानकारी दिनुभयो ।

जम्मरकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । जम्मरकट्टेललाई नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन रहेको छ । १ सय १० सदस्यीय बागमती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नेपाल मजदुर किसान पार्टी मात्रै प्रतिपक्षमा छ । हिजो माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको कांग्रेसले बागमती प्रदेश सरकारलाई समर्थन गर्न सक्ने सम्भावना देखिएको छ ।