images
images

अदालतको रेकर्ड अपडेट नहुँदा मृत्युको २२ वर्षपछि सहिदलाई वारेन्ट

जिवित मानिसलाई कसैको उजुरीपछि वारेन्ट आदेश जारी हुनुलाई स्वभाविक रुपमा लिन सकिन्छ । तर, दोलखामा यस्तो एउटा घटना घट्यो, जुन घटना सुन्ने सबै अचम्मित भए । जनयुद्धमा २२ वर्षअघि सहादत प्राप्त गरेका राजश्वराज रिमाल (हेमन्त) को नाममा भर्खरै वारेन्ट जारी भएको छ । २२ वर्ष अघि मृत्यु भएका रिमालको टाउकोमाथि १६ वर्षअघि दर्ता भएको विष्फोटक पदार्थ ओसारपसारको उजुरी बोकेर प्रहरी सोमबार दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ७ स्थित सहिद हेमन्तको घर पुगेका थिए । रिमालको मृत्यु भएको ६ वर्षपछि उनी विरुद्ध मुद्धा दर्ता भएको देखिएको छ ।

यसरी पुगे प्रहरी सहिदको घरसम्म

अदालतको कमजोरीका कारण दोलखामा जनयुद्धमा सहादत प्राप्त गरेका सहिद राजश्वराज रिमाल (हेमन्त) माथि पक्राउ पूर्जी जारी भएको खुलासा भएको छ ।
दोलखा जिल्ला अदालतमा मृत्यु रेकर्ड नहुदा हेमन्तको नाममा २२ वर्षपछि पक्राउ पूर्जी जारी भएको खुलेको हो । हेमन्तको २०५७ साल मङ्सिर १ गते ओखलढुंगाको रगनीमा सहादत भएको थियो । तर, उनको मृत्यु भएको ६ वर्ष पछि दर्ता भएको मुद्धाको फैसला कार्यान्वयन अन्तर्गत अदालतको लिस्ट बोकेर हेमन्तलाई खोज्दै प्रहरी उनको घरमा पुगेका थिए । हेमन्तले संसार छाडेको २२ वर्ष भइसकेको छ । तर पनि उनको घरमा सोमबार जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरीको टोली पुगेको थियो । प्रहरी २०६३ साल जेठ २८ गते दर्ता भएको मुद्धाको जाहेरी लिएर त्यहाँ पुगेका थिए ।

के भन्छ प्रहरी र अदालत ?

सहिद हेमन्तको घरमा वारेन्ट लिएर प्रहरी पुगेकोबारे अदालतमा बुझ्दा जिल्ला अदालत दोलखाले यसबारे कुनै जानकारी नरहेको प्रतिक्रिया दिएको छ । अदालतका श्रेष्तेदार शिव कुमार पोखरेलले धेरै मुद्धाहरुको वारेन्ट जारी हुने हुँदा कहिले र कसरी भयो भन्ने त्यस्ता केही मुद्धा र घटनाको बारेमा थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

उता, प्रहरी प्रशासनले भने अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतले पठाएको लिस्टको आधारमा प्रहरी चल्ने भएकाले कसको अवस्था के हो ? भनेर आफुहरु जानकार नहुने बताएको छ । दोलखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगा प्रसाद पौडेलले अदालतले पठाएको लिस्टको आधारमा प्रहरी टोली परिचालन हुने भएकाले अदालतबाटै त्रुटि नसचिएको दावी गर्नुभयोे । कुनै पनि प्रदीवादीको मृत्यु भएपछि स्वतः नाम हटाउनुपर्ने भएपनि नमेटिएपछि अदालतमा मृत्युको रेकर्ड नहुँदा यसरी वारेन्ट जारी भएको हुनसक्ने प्रहरीको ठम्याई छ । डिएसपी पौडेलले अदालतको फैसला कार्यान्वयन अन्तर्गत स्थानीय प्रहरी जाने भएकाले त्यही अनुसार सोधखोजको लागि गएको हुन सक्ने बताउनुभयो ।

अदालतको फैसला कार्यान्वयन अन्तर्गत सबै जिल्ला–जिल्लामा फरार प्रतिवादीहरुको लागि पक्राउ पूर्जी पठाउने गरिएको छ । सहिद हेमन्तको सहादत भएको २२ वर्षपछि वारेन्ट जारी भएसँगै हेमन्तका भाई रेशम राजश्वराज रिमाल र छोरा रोशन रिमालले सामाजिक सञ्जाल फेसबुक मार्फत विरोध गर्दै सहिद परिवारका घाउलाई नबल्झाउन चेतावनी दिएका छन् । जनयुद्धका सर्वाेच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै बेला सहिदको नाममा वारेन्ट जारी भएपछि सहिद परिवारजन आक्रोशित भएका छन् ।