images
images

पुस २५ गतेसम्म ७९ अर्ब राजस्व संकलन, दुई दिनमै उठ्यो २८ अर्ब ८७ करोड

  • २६ पुष २०८०, बिहीबार ०८:१२

काठमाडौं । सरकारले पुस २५ गतेसम्म ७९ अर्ब रुपैयाँ राजस्व उठाएको छ ।

अर्थ मन्त्रालयले पुस महिनामा मात्रै १ खर्ब ८८ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ७९ अर्ब रुपैयाँ राजस्व उठाएको हो । दुई दिनको अवधिमा मात्रै २८ अर्ब ८७ करोड राजस्व संकलन भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस २४ गते १७ अर्ब ४० करोड ९८ लाख र पुस २५ गते ११ अर्ब ४५ करोड ९५ लाख गरी २८ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन भएको हो । करदाताले प्रत्येक महिनाको कारोबार विवरण एक महिना समाप्त भएको २५ गतेभित्र आन्तरिक राजस्व कार्यालयमा बुझाएर मूल्य अभिवृद्धि कर दाखिला गर्नुपर्नेछ भने अग्रिम पनि २५ गतेभित्र बुझाउनुपर्नेछ ।

नेपाल राष्ट्र बैँकको आम्दानीबाट सरकारले पाउनुपर्ने लाभांश पुसमा आएको कारण राजस्व तुलनात्मक रुपमा बढेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पुस २४ गते कर राजस्व ७ अर्ब ३ करोड र गैरकर राजस्व १० अर्ब ३७ करोड ९८ लाख उठेको थियो । गैरकर राजस्वमध्ये १० अर्ब रुपैयाँ राष्ट्र बैँकले लाभांशबापतको रकम राजस्व खातामा जम्मा गरेको छ ।

यस्तै २५ गते १० अर्ब २१ करोड १० लाख रुपैयँँ कर राजस्व र १ अर्ब २४ करोड ८५ लाख रुपैयाँ गैरकर राजस्व उठेको थियो । मन्त्रालयका अनुसार पुसमा वार्षिक अनुमानित आम्दानीको आधारमा तिनुपर्ने करको ४० प्रतिशत, चैतसम्म ३० प्रतिशत गरी ७० प्रतिशत कर तिर्नुपर्ने भएको छ । यसैगरी असारमा थप ३० प्रतिशत कर सहित शत प्रतिशत बुझाउनुपर्नेछ । गत आर्थिक वर्ष २०७८/७९ मा उठेको १० खर्ब ६३ अर्ब रुपैयाँको राजस्वमा पुसमा मात्रै १ खर्ब २९ अर्ब रुपैयाँ उठेको थियो ।