images
images

जिरीमा ‘स्वर्गीय हेमन्त प्रधान स्मृति’ बागमती प्रदेशस्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु

  • २६ पुष २०८०, बिहीबार २१:४०

जिरी (दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीमा आजदेखि ‘स्वर्गीय हेमन्त प्रधान स्मृति’ बागमती प्रदेशस्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ ।

नेपाली काँग्रेस क्षेत्रीय समिति दोलखा क्षेत्र नम्बर १ को आयोजनामा जिरीमा आजदेखि बागमती प्रदेश (साविक क्षेत्र) स्तरीय सर्वाधिक राशीको भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री भिष्मराज आङ्देम्वाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा दोलखाको पाँचसहित आठ टिमको सहभागिता रहेको छ ।

उद्घाटनपछि लिग चरणको पहिलो खेल सिन्धुपाल्चोक र दोलखाको टिम बि बिच भएको छ । जसमा सिन्धुपाल्चोकले दोलखा टिम बि लाई पराजित गरेको छ । प्रतियोगितामा दोलखाको चारसहित ८ टिम सहभागी रहेको आयोजकले जनाएको छ । जसमा रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक र चितवन जिल्लाका खेलाडीहरु सहभागी रहेको काँग्रेस क्षेत्रीय समिति दोलखा क्षेत्र नम्बर १ का उपसभापति दोर्जी शेर्पा ‘सञ्जु’ ले जानकारी दिनुभयो । कांग्रेस दोलखा क्षेत्र नम्बर १ का सभापति सुक्रराज तामाङको अध्यक्षतामा सुरु भएको खेल पौष २९ गतेसम्म जारी रहनेछ । भलिबल प्रतियोगिताका बिजेताले नगद २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । यसैगरी द्धितीय, तृतीय र शान्त्वना हुने टिमले क्रमश १ लाख, ५० हजार र ३० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका सांसद कुन्दनराज काफ्ले, कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, जिल्ला सभापति बर्मा लामा, पूर्व सभापति तारा बहादुर काईराला, जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल, गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा कार्की, तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना खड्का (सुवेदी), काँग्रेस दोलखाका नेता तारा कुमार खड्का, कांग्रेस जिरी नगरका सभापति सोनाम शेर्पा, नेकपा एमाले जिरी नगर समितिका अध्यक्ष केशव कुमार कार्की र नेकपा माओवादी केन्द्र जिरी नगर समितिका अध्यक्ष कर्म शेर्पा लगायतको सहभागिता रहेको थियो ।