
दोलखा । दोलखाको लामावगरमा निर्माणाधिन लप्ची खोला जलविद्युत आयोजनाको सडक निर्माणका क्रममा तीन जना कामदार घाईते भएका छन् ।
लामावगर–लप्ची सडकको हुरहुरे सडक खण्डमा पहिरो खस्दा विगु गाउँपालिका–१ लामावगरका अन्दाजी ३० वर्षीय दिलकुमार तामाङ सहित तीन जना घाईते भएका हुन् । हिजो दिउँसो सडक निर्माणको क्रममा गरिएको विस्फोटपछि माथिबाट खसेको पहिरोसँगै आएको ढुंगाले लागेर तीन कामदार घाईते भएका हुन् ।
ढुंगाले लागेर दिलकुमार तामाङको दाँया हात भाँचिएको छ भने अन्य दुई जनाको अवस्था सामान्य छ । घाईते तिनै जनालाई हिजै उद्धार गरी अस्पताल लगिएको स्थानीय शंकर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते दिलकुमारको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भईरहेको छ भने अन्य दुई जना घाईते चरिकोटमा सामान्य उपचारपछि घर फर्किएका छन् ।
गत वर्षको माघ १ गते पनि सडक निर्माणका क्रममा विस्फोट गराउँदा एक कामदारको मृत्यु हुनुका साथै दुई कामदार घाईते भएका थिए । गत वर्ष घाईते भएका दिलकुमार यो पटक पनि घाईते भएका हुन् । लामाबगरमा निर्माण गर्न लागिएको नासा हाईड्रोपावरले लप्चीमा १६० मेगवाटको लप्चीखोला जलविद्युत आयोजना निर्माणका लागि प्रवेशमार्ग निर्माण गरिरहेको छ । कठिन भिरलाई छिचोलेर सडक बनाउन विस्फोटक पदार्थ प्रयोग गरि विस्फोट गराउँदा पटक–पटक कामदार घाईते हुने गरेका छन् । हालसम्म सडक निर्माणकै क्रममा तीन जनाको मृत्यु भइसकेको छ ।
फाईल तस्वीर ।