
दोलखा । प्रेस सेन्टर नेपाल दोलखाले स्थापना गरेको ‘सहिद रित वहादुर खड्का स्मृती राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१’ वाट बरिष्ठ पत्रकार बलराम थापा पुरस्कृत हुनुभएको छ ।
प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका बरिष्ठ पत्रकार थापालाई तत्कालिन नेकपा माओवादीका केन्द्रीय सदस्य रितवहादुर खड्काको स्मृतिमा स्थापना गरिएको पुरस्कार पहिलो पटक प्रदान गरिएको हो । पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ ।
प्रेस सेन्टर दोलखाको सातौं जिल्ला अधिवेशनको अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो । पत्रकार थापालाई बागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल खड्काले पुरस्कार प्रदान गर्नुभयो । जनयुद्ध कालमा पत्रकार थापाको माओवादीका लोकप्रिय नेता रितवहादुरसँग नजिकको सम्वन्ध थियो । प्रेस सेन्टर दोलखाका अध्यक्ष सुरज बस्नेतले रितवहादुर खड्का स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार हरेक बर्ष राष्ट्रिय तथा स्थानीयस्तरका अग्रज पत्रकारलाई प्रदान गर्ने जानकारी दिनुभयो ।
अधिवेशनको अवसरमा प्रेस सेन्टर नेपाल दोलखाका संस्थापक अध्यक्ष लक्ष्मण खड्का र पूर्व अध्यक्ष शिवकुमार भुजेललाई पनि सम्मान गरिएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपाल दोलखावाट पत्रकार महासंघ दोलखा शाखामा निर्वाचित कोषाध्यक्ष सिर्जना गोले, सहसचिव गोविन्द थामी, कार्य समिति सदस्य लक्ष्मी बस्नेत, राष्ट्रिय परिषद सदस्य शिवकुमार भुजेल, प्रदेश परिषद सदस्य सुजता बस्नेतलाई पनि सम्मान गरिएको छ ।