images
images

वर्षा नहुँदा दोलखाका किसानहरु चिन्तित, हिउँदेबाली प्रभावित

  • २८ माघ २०७९, शनिबार ०९:१२

जिरी (दोलखा) । माघ महिना सकिनै लाग्दा समेत वर्षा र हिमपात नभएपछि दोलखाका किसानहरु चिन्तित भएका छन् ।

यो वर्षको हिउँदयाममा हिमतपात र वर्षा नहुँदा हिउँदेबाली खेतबारीमै सुक्ने अवस्था आउन लागेपछि दोलखा र रामेछापका किसानहरु चिन्नित भएका हुन् । हिउँदको समयमा गहुँ, जौँ, आलु, तोरी, केराउ र हरियो तरकारी लगायत बाली उत्पादन हुन्छ । तर, वर्षा नभएपछि पानीको अभावनले हिउँदे बाली खेतबारीमै सुक्न थालेको किसानहरुको गुनासो छ । गत वर्ष हिउँद याममा बेलामै वर्षा भएको थियो ।

डिसेम्बर, जनवरी र फेब्रअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदको पहिलो महिना डिसेम्बर पानी परेको थिएन भने जनवरीमा पश्चिमका केही क्षेत्रमा हल्का वर्षा र हिमपात भएको थियो । तर बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली सहित १३ वटै जिल्लाहरुमा यो वर्षको हिउँद यामम सुरु भएदेखिनै हालसम्म वर्षा र हिमपात भएको छैन । वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौँ लगायतका हिउँदे बाली राम्रोसँग फस्टाउन नसकेको तथा खेती खेतबारीमै सुक्न थालेको जिरी २ छेरवादिङकी स्थानीय दुर्गा बस्नेतले बताउनुभयो ।

मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीकी स्वीकृती बस्नेतले पनि विगतमा वर्षहरुमा प्रशस्तमात्रा पानी परेपनि यो वर्ष भने पानी नपरेपछि खेती गर्ने किसानहरुलाई असर परेको बताउनुभयो । आलु र गहुं खेती लगाएपनि जमिन भिज्ने गरी वर्षा नभएपछि राम्रोसँग फस्टाउन नपाएको उहाँले बताउनुभयो । वर्षा नहुँदा कतिपय पानीको मुहानहरु पनि सुक्दै गएको उहाँले बताउनुभयो ।

डढेलोको जोखिम बढ्दै

यसैबीच, वर्षा र हिमपात कम भएपछि डढेलोको जोखिम पनि बढ्दै गएको छ । नेपालमा डढेलोको जोखिम सामान्यतया फागुनको मध्यदेखि सुरु हुन्छ । तर यो वर्ष गत पुषको मध्यदेखि हालसम्म देशभरमा तीन सय ५० भन्दा धेरै ठाउँमा डढेलो लागिसकेको छ । दोलखा र रामेछाप लगायतका कतिपय स्थानमा ठूलो क्षेत्रको जङ्गल जलेर नष्ट भएको छ । लामो खडेरीको प्रभावका कारण सुख्खायाम सँगै डढेलोको जोखिम पनि उच्च बनेको हो । केही दिनदेखि दोलखा र आसपासको जिल्लाको धेरै स्थानमा मौसम धुम्मिएको छ । पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि मौसममा आंशिकदेखि सामान्य बदली भएपनि वर्षा र हिमपात भने भएको छैन ।

यो वर्ष दोलखाको उच्च हिमाली क्षेत्र तथा पर्यटकीय स्थल कालिञ्चोक र शैलुङ तथा जिरीको च्योर्दुङ लगायतका क्षेत्रमा समेत हिमपात भएको छैन । यो वर्षको हिउँदमा देशभर पछिल्लो ३० वर्षयताकै कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।