images
images

सुख्खायामले माथिल्लो तामाकोशीको विधुत उत्पादनमा गिरावट, ७५ मेगावाटमा सिमित

  • २८ माघ २०७९, शनिबार २०:५७

जिरी (दोलखा) । सुक्खायाम बढेसँगै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन घटेको छ ।

माघ महिना सकिसक्दा समेत वर्षा र हिमपात नहुँदा सुक्खायाम बढेसँगै जलविद्युतको उत्पादन पनि निरन्तर ओरालो लागेको हो । गत वर्षको हिउँदको तुलनामा यो वर्ष देशभर करिब २० प्रतिशत बढी उत्पादन घटेको बेला सबैभन्दा ठुलो क्षमताको राष्ट्रिय गौरवको आयोजना अपर तामाकोसीले पनि हाल कम मात्रामा विद्युत उत्पादन गरिरहेको छ । ४५६ मेगावाट क्षमताको दोलखास्थित माथिल्लो तामाकोशी आयोजनाले हाल ७५ मेगावाट आसपास मात्रै उत्पादन गरिरहेको भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार हाल माथिल्लो तामाकोशी आयोजनाको सहित देशभरबाट जडित क्षमताको ३३ प्रतिशत मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा छ । गत वर्ष माथिल्लो तामाकोशीको विद्युत उत्पादन ११० मेगावाटभन्दा तल झरेको थिएन । माथिल्लो तामाकोशी आयोजनाले गत वर्षको भदौबाट नियमित विद्युत उत्पादन सुरु गरेको थियो ।

ठूला जलविद्युत आयोजनालेनै क्षमता अनुसारको विद्युत उत्पादन गर्न नसकेपछि अहिले विद्युत व्यवस्थापन गर्न कठिन परेको विद्युत प्राधिकरणले जनाएको छ । सुख्खा बढेपछि निजी क्षेत्र (आइपीपी)का केही आयोजनाको उत्पादन ७०/८० प्रतिशतसम्म घटेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पहिलो विकल्पमा स्थानीय उत्पादन घटेपछि दुईवटा विकल्पमा काम गरिरहेको बताउनुभयो । अहिले प्राधिकरणले निजी क्षेत्र, आफ्नो र सहायक कम्पनीले निर्माण गरिरहेका आयोजनाहरुमा छिटो सक्नका लागि सहजीकरण गरिरहेको उहाँको भनाई छ ।

आजबाट ८६ मेगावाटको सोलुखोला जलविद्युत आयोजना पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । केही दिन पहिला दुईवटा जलविद्युत आयोजना प्रणालीमा जोडिएका थिए । दोस्रो विकल्पका रुपमा प्राधिकरणले महँगो नै तिरेर भएपनि भारतबाट थप आयात गर्ने सोच बनाएको प्राधिकरणले जनाएको छ । अहिले कुल मागको करिब ३३ प्रतिशत विद्युत भारतबाट आयात भइरहेको छ । हाल भारतबाट ४०० मेगावाट औसतमा आयात भइरहेको प्रबन्ध निर्देशक घिसिङले बताउनुभयो । माघ अन्तिम साता भएपनि यो बर्ष पानी र हिउँ परेको छैन । जसका कारण नदीहरुमा वहाब घट्दा उत्पादनमा कमी आएको छ ।