
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
जसपा नेपालको आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो । सरकारले ल्याएका अन्य ५ वटा अध्यादेशमा सरकारलाई समर्थन गरिएपनि भूमिसम्बन्धी अध्यादेशमा भने समर्थन नगर्ने पार्टीको निर्णय रहेको प्रथम उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।
जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश भूमाफियाहरुको पक्षमा रहेको निश्कर्ष निकालेको छ । जसपाले सरकारले ल्याएका ६ वटै अध्यादेशका बारेमा पार्टीगत अध्ययनका लागि गठन गरेको कार्यदलले समते भूमीसम्बन्धी अध्यादेश स्वीकार गर्न नसकिने प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाईसकेको छ ।
बैठकको निर्णयबारे जानकारी दिँदै प्रथम उपाध्यक्ष यादवले भूमिसम्बन्धी अध्यादेश दीर्घकालिन रुपमा मुलुकको हितमा नरहेको बताउनुभयो । त्यसले राष्ट्रलाई ठुलो क्षति पु¥याउने ठहर गर्दै पार्टीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
अध्यादेश ल्याउनु राम्रो नभएपनि ल्याईसकेपछि सरकारसँग वार्ता भएमा अध्यादेशका पक्षमा मतदान गर्न सकिने जसपा नेपालले जनाएको छ ।