images
images

चाबहिल चक्कु प्रहार प्रकरणः जिरीका एक सहित तीन युवक पक्राउ

काठमाडौँ । काठमाडौँको चाबहिल चक्कु प्रहार घटनामा संलग्न भएको आरोपमा दोलखाको जिरीका एक सहित ३ युवक पक्राउ परेका छन् ।

चाबहिलमा दुई समुहबीच भएको झडपका क्रममा एक युवकको मृत्यु भएपछि पक्राउ परेका दोलखाको जिरीका एक सहित ३ युवकलाई प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–१ स्थायी घर भइ हाल कपन सिमलटार बस्ने २२ वर्षीय युनिक लामा भनिने नुर्वु शेर्पा, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ८ घर भई गोकर्णेश्वर बस्ने २० वर्षीय विशाल तामाङ र झापा घर भई हाल गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका १९ वर्षीय क्षितिज कार्की रहेका छन् ।

शेर्पा र तामाङ घटनास्थलबाट भाग्दै गरेको अवस्थामा पक्राउ परेका थिए भने कार्की घाईते अवस्थामा रहेको र उपचार पछि प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद थप गरि प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान अघि बढाईएको छ ।

चोरीको मोबाईलले लियो युवकको ज्यान

काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा आईतबार बिहान दुई समुहबीच झडप हुँदा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ९ पानीट्यांकी घर भई काठमाडौँको नयाँबस्ती बस्ने २३ वर्षीय अमृत भनिने सँघर्ष कार्कीको मृत्यु भएको थियो ।

उनीहरुबीच चोरीको मोबाईल लिने विषयमा झगडा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सानो मोबाईलको विषयमा भएको विवादले ज्यानै जाने घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) अपिलराज बोहोराले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका जिरीका शेर्पाविरुद्ध यसअघि पनि ५ पटक र तामाङ विरुद्ध दुई पटक प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको मुद्धा चलाईएको थियो । घटनामा संलग्न एक जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।