images
images

दोलखा कप २०८२ को उपाधि ओखलढुंगाको चम्पादेवी गाउँपालिकालाई, लिखु तामाकोशी उपविजेता

जिरी । दोलखाको पर्यटकीय नगरी जिरीमा सम्पन्न ‛दोलखा कप २०८२’ खेलकुद महासंग्रामको उपाधी ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले हात पारेको छ ।

आज सम्पन्न कोशी प्रदेश र बागमती प्रदेश अन्तर खुल्ला पुरुष भलिबल प्रतियोगितामा चम्पादेवी गाउँपालिकाले जित निकालेको हो । यो सँगै रामेछाप लिखु तामाकोशी गाउँपालिकाले भने उपविजेतामा चित्त बुझाएको छ । यसैगरी दोलखाको तामाकोशी गाउँपालिका तेस्रो र धादिङको सिद्धलेक गाउँपालिका सान्त्वना हुन स्थान लिन सफल भएका छन् ।

भलिबल प्रतियोगिताका विजेता चम्पादेवीले २ लाख १ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपविजेता लिखु तामाकोशीले १ लाख १ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र गरेको छ । तृतिय र सान्त्वना हुने टिमले क्रमश ५१ हजार र २५ हजार प्राप्त गरेका छन् ।

भलिबल प्रतियोगिता सँगै खेलकुद महासंग्राममा डोरी तान्ने र बुढी बोकर दौडने लगायताका स्थानीय खेलको पनि आयोजना गरिएको थियो । बुढी बोकर दौडने खेलमा रोशन श्रेष्ठ र पवित्रा श्रेष्ठको जोडी प्रथम, रमेश खड्का र निशा खड्काको जोडी द्धितिय र शेरप शेर्पा तथा डोमा शेर्पाको जोडी तृतिय भएका छन् । उनीहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै डोरी तान्ने खेलमा यलुङ टिमले जितेको छ । उनीहरुले ५ हजार नगद पाएका छन् । प्रतियोगिताका विजेताहरुलाई जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल, जिल्ला खेलकुद परिषद् दोलखाका अध्यक्ष आषिश घिसिङ र दोलखा एकीकृत जिरीका अध्यक्ष नोर्गेन शेर्पा लगायतले पुरस्कार वितरण गरेका थिए ।

दोलखा एकीकृत जिरीको आयोजना र जिरी नगरपालिकाको सहआयोजनामा भएको प्रतियोगितामा ११ टिमको सहभागिता थियो ।