images
images

सहकारीमा भाका नाघेको ऋण बढ्दो, ऋण नतिर्ने ऋणिको धितो लिलाम गरिदै

  • २८ चैत्र २०७८, सोमबार १३:४९

दोलखा । दोलखाका सहकारीले तरलता अभाव भएपछि लामो समयदेखिको भाका नाघेका ऋणिहरुलाई कालोसुचीमा राखेर लिलामी प्रक्रिया अघि बढाउन थालेका छन् ।

तरलता अभाव भइरहेका बेला संस्थामा लामो समयदेखिको भाका नाघेको ऋण बढ्दै गएपछि जिल्लाका तीन सहकारी संस्थाहरुले समयमा ऋण नतिर्ने ऋणिलाई कालोसुचीमा राखेर लिलाम प्रक्रिया अघि बढाएका हुन् । जसअनुसार एकिकृत फ्रेण्डसिप साकोस, जनसचेतन साकोस र जनजागरण सहकारी संस्थाले १९ जना ऋणीलाई कालोसुचीमा राखेर लिलाम प्रक्रिया अघि बढाएका छन् । यस्तै, मिलिजुली कालिञ्चोक साकोस, हाम्रो जनकल्याण साकोस र जनमुखी सहकारीले पनि लामो समयदेखिको भाका नाघेको ऋण नतिर्नेलाई धितो लिलाम प्रक्रिया अघि बढाउने तयारी गरिरहेका छन् ।

जिल्लामा कारोबारको हिसावले ठूलो मानिने वैतेश्वर गाउँपालिकाको मैनापोखरीस्थित जनसचेतन साकोसले सबैभन्दा धेरै ११ जनालाई कालोसुचीमा राखेर धितो लिलाम प्रक्रिया अघि बढाएको छ । ती ऋणी सदस्यको धितो लिलामका लागि ३५ दिने सूचना जारी भएपनि तत्काल चुनावी माहौल सुरु भएका कारण रोकिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले बताउनुभयो । उहाँका अनुसार संस्थामा ३ वर्षदेखिको भाका नाघेको ऋण ११ प्रतिशत रहेको छ । वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेको जनजागरण बचत तथा ऋण सहकारी संस्थाले पनि ६ जना ऋणिले ऋण नतिरेपछि कालोसुचीमा राखेर धितो लिलाम प्रक्रिया अघि बढाएको छ । संस्थाका व्यवस्थापक प्रल्हाद दाहालले २०६८ सालदेखि २०७१ सालसम्मको भाका नाघेका ऋणि ८ जना रहेकोमा त्यसमध्ये २ जनाले ऋण तिरे पनि अझै ६ जनाले ऋण नतिरेपछि एक महिनाअघि कालोसुचीमा राखेर ३५ दिने सूचना जारि गरी धितो लिलाम प्रक्रिया अघि बढाएको बताउनुभयो ।

जिल्लाका ठूला कारोबार गर्ने सहकारी संस्थाहरुको खराव कर्जा बढ्दो छ । बर्षौदेखिको ऋण असुली गर्न नसकेपछि सहकारी संस्थाहरुले धमाधम ऋणिको धितो लिलामको सूचना प्रकाशन गरेर प्रक्रिया अघि बढाईरहेका छन् । जिल्लाका अधिकाँश सहकारी संस्थाको खराव कर्जा १० प्रतिशत भन्दा माथि पुगेको छ । जसका कारण सहकारी संस्था आन्तरिक अवस्था समेत जटिल बन्दै गएको छ ।

जिरी नगरपालिकास्थित एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले २ जनाको धितो लिलाम प्रक्रिया अघि बढाएको छ । सो सहकारीले ४ जनालाई कालोसुचीमा राख्दै ३५ दिने सूचना निकालेकोमा २ जनाले ऋण चुक्ता गरेका छन् भने दुई जनाले चुक्ता गर्न बाँकी रहेकाले धितो लिलाम गर्ने अन्तिम चरणमा पुगेकोे संस्थाका अध्यक्ष भुमिराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीमा २० देखि ३० प्रतिशत भाका नाघेको ऋण रहेको छ । भाका नाघेको ऋण २०७१ सालदेखिको रहेको भन्दै उहाँले थप १४ जना भाका नाघेको ऋणीको धितो लिलाम प्रक्रियामा जानका लागि सूचना जारी गर्ने तयारी भएको बताउनुभयो ।

जिल्ला सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक साकोसले पनि कोभिडका कारण खराब कर्जा बढ्दै गएपछि धितो लिलाम गर्ने तयारी गर्दैछ । हालसम्म संस्थाबाट ६ जनाको धितो लिलाम गरिएको भन्दै संस्थाका सहायक व्यवस्थापक रमेश सापकोटाले ऋण लगेर पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएका करिब १० जनालाई कालोसुचीमा राख्ने तयारी भइरहेको बताउनुभयो । सदरमुकाम चरिकोटकै हाम्रो जनकल्याण सकोसले पनि भाका नाघेको ऋण बढ्दै गएपछि पहिलो पटक धितो लिलाम प्रक्रिया अगाडि बढाउन लागेको छ । संस्थामा कुल ऋण लगानीको ७ देखि १० प्रतिशत भाका नाघेको ऋण रहेको छ । भाका नाघेको ऋण असुली गर्न कानुनी परामर्शदाताले तयार पारेको रिपोर्टअनुसार एक सातापछि २ लाखदेखि १५ लाखसम्म ऋण लगेका १० जनाको पहिलो चरणमा कालोसुचीमा नाम राखी लिलाम प्रक्रिया अघि बढाउने तयारी भइरहेको संस्थाका अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो ।

वैतेश्वर गाउँपालिकास्थित जनमुखी साकोसले पनि धितो लिलामा प्रक्रियाको तयारी गरेको छ । सो संस्थामा भाका नाघेको ऋण साँढे ११ प्रतिशत रहेको छ । २०७३/७४ साल देखि रहेको त्यस्ता ऋण असुल उपरका लागि २२ जनाको धितो लिलाम प्रक्रिया अघि बढाउने गरी सञ्चालक समितिबाट निर्णय भइसकेकोे संस्थाका व्यवस्थापक भेषबहादुर मिजारले बताउनुभयो ।