जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा शंकास्पद १९ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज राती ११ बजे इलाका प्रहरी कार्यालय जिरीले गौरीशंकर गाउँपालिका घर भएका जंग बहादुर गुरुङ (जेवी) को नेतृत्वमा रहेका शंकास्पद १९ जना युवाहरुलाई लिंकनबजारबाट पक्राउ गरेको हो । जेवी गुरुङ एमाले नेता पार्वत गुरुङको गृह गाउँका हुन् । उनी नेकपा एमालेबाट गौरीशंकर गाउँपालिका वडा नम्बर ६ का अध्यक्षका उम्मेदवार भूवन गुरुङका भाई हुन् । भ्यान, बोलेरो, स्कारपियो लगायतका ५ वटा सवारी साधनमा जिरी भित्रेका युवाहरु शंकास्पद लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ती युवाहरु जिरी भित्रिएर गाडीभित्रै लुकेर बसेको देखिएपछि प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन् । ईलाका प्रहरी कार्यालय जिरीबाट खटिएका प्रहरी निरीक्षकको टोलीसहित सशस्त्र प्रहरी बलको टोलीले ती अपरिचित ब्यक्तिहरुलाई नियन्त्रणमा लिइएको हो । स्थानियले सोधखोज गर्दा परिचय अस्पष्ट दिएको र अपशब्द प्रयोग गरेका उनिहरु के उद्देश्यले जिरी प्रवेश गरेको हो भन्ने बिषयमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
युवकहरु फरार हुन थालेपछि र स्थानीयले उनीहरुको गाडीमा तोडफोड गरेपछि केही बेर अवस्था तनावग्रस्त हुन पुगेकोे थियो । सो क्रममा प्रहरीले ७ राउण्ड हवाई फायरिङ पनि गरेको थियो । अपरिचित ती ब्यक्तिहरुले परिचय लुकाउदै स्थानीयमाथी नै आक्रोश पोखेका थिए । तोडफोड गरिएको गाडीमा एमालेको पोष्टर समेत फेला परेको छ । निर्वाचन विथोल्न र बुथ कब्जाका लागि एमालेले उनीहरुलाई जिरी भित्र्याएको आशंका छ ।