images
images

जिरीबाट दोलखा एमालेको प्रचारसामाग्री सहित पक्राउ परेकामध्ये १३ युवक जिल्ला बाहिरका

  • २८ बैशाख २०७९, बुधबार ११:२६

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाबाट पक्राउ परेकामध्ये १३ युवाहरु बाहिर जिल्लाको रहेको खुलेको छ ।

गएराती दोलखा एमालेको चुनावी प्रचारसामाग्री सहित पक्राउ परेका २० जनामध्ये ७ जना मात्रै जिल्ला भित्रका र अन्य १३ जना जिल्ला बाहिरको रहेको खुलेको हो । गौरीशंकर गाउँपालिकाका जेबी गुरुङसहित ५ जना, बैतेश्वरका एक जना र शैलुङका एक जना गरी दोलखाका ७ जना पक्राउ पर्दा अन्य सबै बाहिरी जिल्लाको रहेको दोलखाका प्रहरी निरिक्षक एवम् सुचना अधिकारीसुशिल केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरु रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाण्डौं, खोटाङ, धादिङ र सुनसरी इटहरीसम्मका युवकहरु रहेका छन् । निर्वाचनको मुखैमा शंकास्पद व्यक्तिहरु भित्रिएपछि राती जिरीमा केहीबेर तनाव सिर्जना भएको थियो । ३ वटा गाडी तोडफोड गरिएको गाडीमा एमालेको प्रचार सामाग्री फेला परेपछि र जिल्लाका एमाले कार्यकर्ताहरुनै पक्राउ परेपछि ती युवाहरुलाई जिरीमा एमालेले बुथ कब्जा गर्नका लागि झिकाइएको बुझिएको छ । बाहिरी जिल्लाका युवासँगै गौरीशंकर गाउँपालिका ६ का जेवी गुरुङ, श्रीमत गुरुङ, वडा नम्बर ४ झ्याकुका कुइसाङ तामाङ, वडा नम्बर ७ का श्याम कुमार गुरुङ र रघुनाथ गुरुङ तथा बैतेश्वर गाउँपालिका १ का दिलीप मगर र शैलुङ ५ काटाकुटीका मिन बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ती मध्ये जेवी गुरुङ एमाले नेता पार्वत गुरुङको गृहगाउँका हुन् । उनी नेकपा एमालेबाट गौरीशंकर गाउँपालिका वडा नम्बर ६ का अध्यक्षका उम्मेदवार बनेका भुवन गुरुङका भाई हुन् । निर्वाचन विथोल्न र बुथ कब्जाका लागि एमालेले उनीहरुलाई जिरी भित्र्याएको आशंका छ ।